
काठमाडौं, ०५ पुष ।
सत्तारुढ नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसद्बाट एमसीसी पारित हुने बताउनुभएको छ । सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतिमा संसद्बाट पारित गराउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनु भएको हो । एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने उहाँको भनाई थियो ।