हामीसँग जोडिनुहोस

अनुगमन आउने भएपछि रातारात पुरियो सडकको खाल्डो, अबस्था उस्तै

2 मिनेट

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले भक्तपुर नगरकोट जाने सडक विस्तारको अनुगमन गर्ने भएपछि सडकमा रहेका सयौ खाल्डोहरु रातारात पुरिएको पाईएको छ ।
गतआईतबार समितिकी सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, प्रहरी, प्रशासन एवं सरोकारवाला निकायसहितको टोलीले सडक निर्माणको स्थलगत अवलोकन गर्ने भएपछि ठेकेदार कम्पनीले शनिवार रातारात सयौ खाल्डोहरु पुरेको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले एकदिन अघिसम्म कमलविनायकबाट नगरकोट जाने सडकमा रहेको सयौ खाल्डोहरु शनिवार रातारात पुरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“पर्यटकीय क्षेत्र नगरकोट जाने सडक निर्माण रोक्दा सयौ खाल्डोहरु परेका थिए, स्थानीयले निकै सासती खेप्नु परेको थियो, तर अनुगमन समिति निरिक्षणमा आउने भनिएपछि रातारात खाल्डो पुर्ने काम भएछ ।”
उहाँले एकदिन अघि त्यही बाटोमा खाल्डै खाल्डो रहेको तर भोली पल्ट अनुगमनमा जादा सबै खाल्डो रातारात पुरिएको देख्दा अचम्म लागेको बताउनुभयो ।
सन २०१४ जुन ५ मा सम्झौता भई २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको सम्झौता भई काम सुरु गरेका शैलुङ कन्स्ट्रसन कम्पनी प्रालि र आरामाली इन्फ्रा पावर लिमिडेटले तीन पटक म्याद थप गर्दा पनि ६५ प्रतिशत काम सिध्याएको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । ।
ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको भन्दै बिभिन्न समस्या देखाउदै निर्माण कम्पनीले म्याद थप गर्दै २०१८ जुनसम्म सम्पन्न गरिसक्ने भनेपनि हालसम्म अलपत्र रहेको छ ।
भक्तपुरबाट नगरकोटसम्मको १६ किलोमिटर मुख्य सडक विस्तारमा भएको ढिलाईले सडक खाल्डो नै खाल्डो हुँदा पर्यटकदेखि स्थानीयसम्मले निकै सास्ती व्यहोर्दै आएका छन् भने निर्माणको क्रममा कमलविनायकबाट नगरपालिकाभवन अगाडिसम्म भएको कालोपत्र उप्किएर खाल्डै खाल्डो परेको र सडक किनारामा लगाएको नाली र पर्खाल धेरै ठाउँमा भत्किसकेको छ ।
‘एक्जिम बैंक इन्डिया’ को १ प्रतिशत ऋण सहयोगमा कर सहित ३१ करोड ५२ लाख ९२ हजार २२० रुपैयाँको लागतमा विस्तार सुरु गरिएको उक्त सडक निर्माणमा दबाब दिन सांसद महेश बस्नेतदेखि नगरपालिकाका प्रमुख मिश्र समेतले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल समेतलाई जानकारी गराउदै आउनु भएको थियो ।
सडक ६ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा २५१ सदस्यीय नगरकोट सडकपीडित संघर्ष समिति गठन गरेर आन्दोलन समेत सुरु गरेका थिए ।
समितिका संयोजक लामिछानेले संसदीय समितिले अनुगमन गरेको केही दिन अघि नगरकोट कमलविनायक सडक निर्माण अनुगमन तथा निरीक्षण समितिका सयोजक एवं चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिमिल्सिना सहित सरोकारवाला निकायले अनुगमन गर्दा सडकमा सयौ खाल्डो भएको बताउनुभयो ।
तर संसदीय समितिको अनुगमनको दिन रातारात खाल्डो पुरेर ठेकेदारले काम देखाउन खोजेपनि निर्माण समय मै नसकेर स्थानीयको दैनिकीसंग खेलवाड गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
हाल रहेको साढे ३ मिटरको सडकलाई बढाएर ७–७ मिटर कालोपत्रे गर्ने, नाली–ढलको व्यवस्थापन गर्ने र मुख्य घुम्तीमा ११ मिटरसम्मको फराकिलो सडक बनाउने योजनासहित आयोजना सुरु भएको थियो ।
संसदीय समितिले पनि उक्त सडक निर्माणमा ठेकेदारको लापर्वाही भएको निष्कर्ष निकालेको छभने भक्तपुरका सांसद बस्नेतले कुनै पनि निर्माण कार्यमा ढिलाई गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने बताउनु भएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।