
काठमाडौं, १७ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताउनभएको छ । उहाँले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाउनुभयो । अपराधिक कृयाकलापमा लागेकालाई पार्टीबाट निष्काशन गर्दा पनि सूचना ननिकालेको आरोप लगाउँदै उहाँले आफूहरुले त्यसको विरोधमा संसदमा अवाज उठाउँदा पेलेर जाने कार्य भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सांसदभन्दा दुई चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद सञ्चालन गरेको टिप्पणी गर्नुभयो । जुन प्रस्ताव संसदमा प्रस्तुत भयो त्यो कानुन सम्मत नरहेको बताउँदै उहाँले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधन रहेको जिकिर गर्नुभयो ।