
काठमाडौं,१७ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले सभामुखले राजीनामा नदिए महाभियोग लगाउन सकिने पनि बताउनुभयो । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गर्नुभयो ।
उहाँले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताउनुभयो । गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै उहाँले कमजोर भएकैले गठबन्धन खोजेको बताउनुभयो । उहाँले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताउनुभयो । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उहाँले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गर्नुभयो ।