
काठमाडौ, २९ फागुन ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै बीचमा एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गर्नुभयो ।
यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाउनुभयो । भारतको हस्तक्षेपविरुद्ध सरकारले कुनै प्रतिक्रिया र विरोध नगरेको भन्दै उहाँले सरकारको चर्को आलोचना गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि भारतले पटक–पटक नेपाली भूमि मिचिरहेकोमा अहिले महाकालीमा डोजर लगाएर धार परिवर्तन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।