
काठमाडौं, २९ फागुन ।
उत्तर एटलान्टिक सैन्य गठबन्धन नेटो प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ ।
यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्रिकासँगको अन्तवार्तामा बताउनुभएको त्यो पत्रिकाले उल्लेख गरेको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्यो आक्रमणमा झन्डै एक हजार तीन सय युक्रेनी सैनिकको ज्यान गएको युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बताउनुभएको छ ।