
काठमाडौं,३० फागुन ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध माथि महाअभियोग प्रस्ताव ल्याउनु परेको बताउनुभयो ।
यही फागुन १ गते नेपाली कांग्रेससहित सत्ता गठबन्धन दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका छन् ।
नेता सिंहले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई न्यायालय सुधारको प्रयास भनेर व्याख्या गर्नुभयो । कार्यक्रममा उहाँले कांग्रेस कार्यकर्ताहरुले जनताको घर–घरमा पुगेर महाअभियोगका विषयमा स्पष्ट पार्न र नागरिकका सुझाव संकलन गरेर पार्टीलाई दिन आग्रहसमेत गर्नुभयो ।
उहाँले अमेरिकी सहयोग परियोजना एमसीसीमा कुनै प्रकारको राष्ट्रघात नभएको जिकीरसमेत गर्नुभयो । तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति इंगित गर्दै उहाँले आफू सरकारमा रहँदा राष्ट्रहित र सरकार बाहिर रहँदा राष्ट्रघात देख्ने दलहरुका कारण एमसीसीबारे भ्रम सिर्जना भएको बताउनुभयो । उहाँले एमसीसीमा राष्ट्रघात भएको भ्रममा नपर्न कांग्रेस कार्यकर्ताहरुलाई आह्वानसमेत गर्नुभयो ।