
काठमाडौं, ३० फागुन ।
युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिनुभएको छ । भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उहाँले बताउनुभएको छ । माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको उहाँले बताउनुभएको छ । तर उहाँले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गर्नुभएको छ । गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताउनुभयो । साथै, राजनीतिक पूर्वाग्रह राखेर गीत निकालेको भन्ने आरोपको पनि उहाँले खण्डन गर्नुभयो ।
यता गायक प्रकाश सपुतको उक्त गीतबाट सबैभन्दा बढी सत्तारुढ नेकपा माओवादी केन्द्र चिढिएको छ । धेरैजसो माओवादी कार्यकर्ता गीतविरुद्ध खनिएका छन् । माओवादी केन्द्र सम्बद्ध चार भातृ संगठनले आइतबार बेलुका संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई तत्काल युट्युबबाट हटाउनुपर्ने अडान कायमै राखेका छन् । सोमबार धनगढी पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ‘पीर’ गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुनपर्ने बताउनुभएको छ ।
मुख्यतः माओवादी नेताहरुले गीतभन्दा पनि त्यहाँ समावेश गरिएको पूर्वछापामार महिला देहव्यापारमा संलग्न भएको दृश्यप्रति आपत्ति जनाइएको छ । पूर्वमाओवादी लडाकुको अपमान भएको आरोप उनीहरुले लगाईरहेका छन् । चुनावको मुखमा माओवादीविरुद्ध षड्यन्त्र भएको आरोप समेत उनीहरुले गायक सपुतविरुद्ध लगाएका छन् ।