
काठमाडौं, ०१ चैत्र ।
संघीय संसदका दुबै सदनका चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै अधिवेशन अन्त्य गर्नुभएको हो । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार सुचना जारी गर्दै नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार आज राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभएको छ । गत फागुन २९ गते बसेको बैठकमा सभामुख अग्नि सापकोटाले चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै गत माघ १६ गते स्थगित गरिएको थियो ।