
काठमाडौं, ०९ चैत्र ।
ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज दोस्रो दिन पनि बन्द छ । सडक मर्मत नगरेको भन्दै स्थानीयबासिन्दाले हिजोदेखि सडक बन्द गरेका हुन् ।
ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीयबासिन्दाले सडक नै बन्द गरेर विरोध गरेका छन् । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो ।
एक वर्ष अगाडि यो सडक पीच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या छ । गएको मंसिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाअध्यक्ष महर्जन बताउनुहुन्छ ।
सातदोबाटो–चापागाउँ चल्ने गाडी धापाखेल–सातदोबाटो हुँदै चल्ने गरेका छन् ।