
टाईफाईड खोप कसले लगाउनु हुँदैन ? (हेर्नुहोस्)
काठमाडौं, २३ चैत्र ।
नेपालमा टाईफाईडको सङ्क्रमण उच्च पाइएको छ । टाईफाईडका बिरामी बढ्न थालेपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको छ । नेपालमा ४ लाख ५० जनामा टाईफाईड सङ्क्रमण पुष्टि भएको छ । ग्लोबल बोर्डन डिजिज् एनालाइसिस २०१९ अनुसार ८२ हजार ४४९ टाईफाईडका बिरामी रहेको र तीमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालमा खाना र पानीजन्य सङ्क्रामक रोगमध्ये विगत तीन वर्ष यताको तथ्याङ्कलाई केलाउँदा टाईफाईड तेस्रो स्थानमा पर्छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले अस्पतालमा भर्ना हुने कारणमध्ये यो रोग चौथो कारणमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘टाईफाईड रोग सबै उमेर समूहलाई देखिए पनि धेरै मात्रामा १५ वर्ष मुनिका बालबालिकामा देखिएको छ ।’
उता, पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा टाईफाईड सङ्क्रमण पाइएको छ । एक लाख बालबालिकामाथि अध्ययन गर्दा यस्तो पाइएको हो । एक लाख जना बालबालिकामध्ये ४ वर्ष मुनिका ७४६ जनामा टाईफाईड सङ्क्रमण भएको पाइएको छ । यस्तै, ५ देखि ९ वर्षसम्मका ६ हजार ७३१ जना बालबालिकामा सङ्क्रमण पाइएको थियो भने १० देखि १४ वर्षसम्मका ३ हजार ७५० जनामा सङ्क्रमण पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले सबै टाईफाईड प्रभावित राष्ट्रलाई खोप प्रयोगका लागि सिफारिस गर्ने गर्छ । सोही क्रममा उसले नेपाललाई पनि टाईफाईड खोप सिफारिस गरेको हो ।
यस्तै, विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार प्रति १ लाख जनसङ्ख्यामा १०० जनाभन्दा बढी सङ्क्रमण दर भएमा सो अवस्थालाई उच्च दरमा वर्गीकरण गरिएको छ । डब्ल्यूएचओको वर्गीकरण अनुसार नेपालमा टाइफाइड रोगको सङ्क्रमण र जोखिम उच्च छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्ररमण सिंहले नेपाल दक्षिण एसियामा टाईफाईडविरुद्धको खोप लगाउने राष्ट्रमा पहिलो भएको बताउनुभयो । टाईफाईड खोपले यो रोगको सङ्क्रमणलाई उल्लेखनीय रूपमा कमी ल्याउने उहाँको भनाइ छ ।
उता, परिवार कल्याण महाशाखाका निर्देशक विवेककुमार लालले राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले समेत राष्ट्रिय खोप अर्थात् नियमित खोप कार्यक्रममा यो खोपलाई समावेश गर्न सिफारिस गरेको सुनाउनुभयो । नेपालमा पहिलो पटक एकै पटकमा ७५ लाख बालबालिकालाई टाईफाईडविरुद्धको खोप दिन लागिएकाले यस अभियानले टाईफाईड सङ्क्रमण कम हुने विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकालाई दिन लागिएको खोप कस्तो हो ?
नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई चैत २५ देखि वैशाख १८ गतेसम्म टाईफाईड खोप अभियान सञ्चालन गरिने भएको छ । नेपालले दक्षिण एसियामै पहिलो पटक बालबालिकालाई यस्तो खोप लगाइदिन लागेकाले यो कस्तो खालको खोप होला भनेर धेरैको मनमा प्रश्न उठिरहेको हुन सक्छ । यही चैत २५ गतेदेखि बालबालिकाकालाई दिन लागिएको खोप सम्पूर्ण ट्रायल पास भई विश्व स्वास्थ्य संगठनले स्वीकृत भएको टाईफाईडको कन्ज्युगेट भ्याक्सिन अर्थात् खोप दिन लागिएको परिवार कल्याण महाशाखाका निर्देशक विवेककुमार लालको भनाइ छ ।
यो खोप ६ महिनादेखि ४५ वर्षसम्म उमेरसमूहलाई दिन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो खोप एक मात्रा मात्र दिइन्छ ।
विश्वमा टाईफाईड विरुद्धको तीन प्रकारका खोप लगाइँदै आएको छ । जसमा कन्ज्युगेट भ्याक्सिन एक हो । यो खोप ६ महिनादेखि ४५ वर्षसम्मकालाई दिइन्छ । यस्तै, अनकन्ज्युगेट भ्याक्सिन दुई वर्षभन्दा माथिकालाई मात्र दिइन्छ । यो खोप पनि एक मात्रामात्रै लगाइन्छ । अर्को टाईफाईडको लाइभ एटीनोइएटीड खोप हो । यो चार मात्रा दिइन्छ । यो खोप दुई वर्षकालाई मात्रै दिइन्छ । यी खोपमध्ये कन्ज्युगेट खोप बढी प्रभावकारी भएको चिकित्सकहरू बताउँछन् । त्यसैले विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका विभिन्न राष्ट्रलाई कन्ज्युगेट खोप लगाउन आग्रह गरेको छ ।
के हो टाईफाईड रोग ?
टाईफाईड एक सङ्क्रामक रोग हो । व्यक्तिको दिसाको माध्यबाट यो रोगमा देखिने जीवाणु बाहिरी वातावरणमा पुग्छ । त्यसपछि दूषित पानी र खानाका माध्यमबाट यो सर्ने चिकित्सकहरू बताउँछन् ।
टाईफाईड रोगका लक्षण यस्ता हुन्छन्
सबै उमेर समूहका व्यक्तिलाई टाईफाईड हुने भएकाले विभिन्न किसिममा लक्षणहरू देखिने चिकित्सकहरूको भनाइ छ । टाईफाईड भएका मानिसहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्ने, कोहीकोहीलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाक लाग्ने, शरीरमा रातो बिमिरा आउने लगायतका लक्षण देखिन्छन् ।
टाईफाईड खोप कसले लगाउनु हुँदैन ?
यही चैत २५ गतेदेखि दिन लागिएको टाईफाईडविरुद्धको खोप कस्ता बालबालिकाले लगाउने वा नलगाउने भन्ने दोधार धेरैलाई हुन सक्छ । परिवार कल्याण महाशाखाका अनुसार विगतमा खोप लगाउँदा कुनै गम्भीर प्रकारको प्रतिक्रिया देखा परेकाहरूले यो खोप लगाउन हुँदैन । यस्तै, कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएकाहरूले पनि यो खोप लगाउनु हुँदैन । एड्सको लक्षण देखापरेका अवस्थामा पनि टाईफाईड विरुद्धको कन्ज्युगेट खोप लगाउनु हुँदैन । उच्च ज्वरो आएका साथै सिकिस्त अवस्थामा भएका बिरामीले पनि यो खोप लगाउन हुँदैन । एजेन्सीको सहयोगमा ।