
काठमाडौं, २३ चैत्र ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताउनुभएको छ । आज ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताउनुभएको हो ।
प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरूसँग एकीकृत गर्न जरुरी रहेको मन्त्री भुसालले बताउनुभयो । यस्तै मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बहुपक्षीय चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।