
काठमाडौं, २४ चैत्र ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा नपुग्ने बताउनुभएको छ । आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले श्रीलङ्का र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पार्नुभयो । प्रवक्ता भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताउनुभयो । देशको अर्थतन्त्रमा थप चुनौती आउन नदिनका लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही वस्तुको आयात रोक लगाउन परेको उहाँको भनाइ छ । प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या बढ्दै गएकाले रेमिट्यान्समा सुधार आउन थालेको बताउनुभयो । अर्थतन्त्रमा सङ्कट तथा थप चुनौती आउन नदिनका लागि सरकारले दीर्घकालका लागि सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।