
काठमाडौं, २४ चैत्र ।
नेकपा एमालेले निर्वाचन आयोगले बनाएका आचारसंहिता पालनामा प्रतिबद्ध रहेको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज निर्वाचन आयोगमा पुगेर आयोगले जारी गरेको आचारसंहितामा एमालेका केही असहमति रहे पनि यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाउनुभएको हो ।
लोकतन्त्रका आधारभूत प्रणालीलाई निर्वाचन आयोगले पनि सम्मान गर्नुपर्ने कुरा आयोगलाई लिखित रूपमै दिइएको पोखरेलले बताउनुभयो । चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार र्पुयाउनुपर्नेमा जोड दिइएको पोखरेलको भनाइ छ ।
प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी प्रचार नै गर्न नपाउने कानुन लोकतन्त्रका लागि सुहाउँदो नभएकाले भविष्यमा यस्ता व्यवस्था परिवर्तन हुनुपर्ने एमालेको धारणा रहेको पोखरेले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरूले चुनाव प्रचार गर्न नपाउने विषयले अहिलेको सत्ता पक्षलाई मात्रै नभइ आउँदा दिनमा अरू सरकारका लागि पनि अप्ठेरो पर्ने भएकाले यसमा सहमत हुन नसकिने उहाँको भनाइ छ ।