
काठमाण्डौ, ०८ बैशाख ।
पाँच दलीय सत्तागठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङका अनुसार वैशाख १८ गतेदेखि २२ गतेसम्म चुनावी सभा गर्ने तयारी भएको छ। चुनावी सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको गुरूङले जानकारी दिनुभयो । यी सभाहरु प्रदेशका राजधानीमा आयोजना हुने बताइएको छ। वैशाख १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेस प्रदेशको जनकपुर र प्रदेश १ को विराटनगरमा तथा २२ गते बागमतीको काठमाडौंमा संयुक्त सभाको आयोजना हुने छ।