
काठमाडौं, ११ वैशाख ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिनुभएको हो ।
नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । एजेन्सी ।