
भक्तपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता खुल्यो । भक्तपुरका चार नगरपालिकाका लागि स्थापना गरेको मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय दिनभरिनै करिब सुनसान रहयो ।
भोली साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेको र ठूला दलहरुमा उम्मेदवार छान्न निकै सकस परेपछि आज ठूला दलहरु उम्मेदवारी दर्तामा गएनन् । नेमकिपा, राप्रपा पनि उम्मेदवारी दर्ता गर्न गएन भने केही स्वतन्त्रले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आज साँझ ६ बजेसम्म पनि नेकपा एमाले र नेपाली काँग्रेससहितको गठबन्धनमा को उम्मेदवार भन्ने सर्बत्र चासो रहे पनि उम्मेदवारको टुङ्गो लाग्न नसके पछि दलहरुलाई सकस परेको छ ।
मुख्य गरि चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा दुई ठूला दलमा उम्मेदवारको आकांक्षकी धेरै भएपनि त्यसलाई घटाउँदै ल्याएर दुई जनासम्ममा झार्दा पनि दुई मध्ये कसलाई टिकट दिने भन्नेबारेमा निर्णय हुन नसक्दा कार्यकर्ता भने अन्योलमा परेका छन् ।
सत्ताधारी दल काँग्रेस सहितको गठबन्धनमा आज बल्ल कुन पार्टीलाई टिकट दिने भन्ने टुङ्ग्याए पनि कसलाई दिने भनेर टुङ्ग्याउन सकेको छैन । गठबन्धनबीच आज बसेको प्रदेशस्तरीय संयन्त्रले भक्तपुरको भागबण्डा टुङ्ग्याएको हो । जसमा चार वटा स्थानीय तह रहेको भक्तपुरमा तीनै वटा नगरपालिकामा कांग्रेसले प्रमुख पाएको छ ।
भक्तपुर नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख, मध्यपुर थिमि नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख तथा सूर्यविनायक नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको हो । चाँगुनारायणमा भने काँग्रेस र माओवादी केन्द्र दुबैले प्रमुखको दाबी गरिरहेकाले सहमति हुन सकिरहेको छैन भने गठबन्धनबीच छलफल जारी रहेको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका नेता डिपी ढकालले चाँगुनारायणमा माओवादी केन्द्रले प्रमुख पाउनु पर्ने दाबी गरिरहेको र छलफल जारी रहेको जानकारी दिदै मध्यपुरथिमिको उपप्रमुखमा भने विजय श्रेष्ठलाई गठबन्धनबाट उम्मेदवार बनाउने जानकारी दिनुभयो । एकीकृत समाजवादीले भक्तपुर नगरपालिकाको उपप्रमुखमा रीता अवाल र सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पार्टी अध्यक्ष श्याम बस्नेतले उम्मेदवारी दिने तय भएको बताइएको छ ।
नेपाली काँग्रेसमा सूर्यविनायकको प्रमुखमा निशान ढुङ्गेल, नारायण खायमली, उद्धव सिलवाल, चाँगुनारायणको प्रमुखमा प्रविण वन, जीवन खत्री, शिवहरी केसी, मध्यपुरथिमिमा अष्टकुमार कवेँ, महेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठलगायतले दाबी नछाडे पछि सकस भएको काँग्रेसका नेताले बताए ।
नेकपा एमालेमा पनि भक्तपुर नगरपालिकाबाहेक अन्य तीन नगरपालिकामा प्रमुख र उपप्रमुखनै टुङ्ग्याउन नसके पछि जिल्ला बाहिर गएर छलफल भइरहेको बताइएको छ । एमालेको चाँगुनारायण नगरपालिकामा वर्तमान उपप्रमुख बिना बास्तोला र रमेश बुढाथोकी दुबैले प्रमुखमा दाबी गरेपछि सकस परेको बताइएको छ ।
यता सूर्यविनायकमा हालका नगर प्रमुख वासुदेव थापा र वडा नं. ८ का वडाध्यक्ष किरण थापाले दाबी नछाडे पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै यसको निर्णय गर्ने र उपप्रमुखमा जूना बस्नेत र सरिता भट्टराईले दाबी नछाडेको बताइएको छ । मध्यपुरथिमिमा भने वर्तमान् प्रमुख मदनसुन्दर श्रेष्ठ र पार्टी अध्यक्ष बचन देउजा दुबैको दाबी रहेको छ । एमालेलाई पनि मिलाउन कठिन भएकाले छलफल जारी रहेको एक नेताले बताए ।
नेमकिपाले भने चार वटै नगरपालिकाका उम्मेदवार भोली मात्रै निर्णय गर्ने जानकारी दिएको छभने राप्रपाले भने पूर्वसहमति अनुसार नेपाली काँग्रेससँग चाँगुनारायणको नगर प्रमुखमा दाबी गर्दै छलफल भइरहेको राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले जानकारी दिनुभयो । सहमति नभए राप्रपाले चारवटै नगरमा उम्मेदवारी दिने गरि तयारी गरेको उहाँले जानकारी दिनु भयो ।
राप्रपा नेपालले चाँगुनारायणमा प्रमुख बिष्णुप्रसाद तिमिल्सिना, उपप्रमुख संगिता लाखाजु, मध्यपुरथिमिको प्रमुखमा रामसुन्दर बिष्ट र उपप्रमुख सरिता श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा धर्मराज थापा र उपप्रमुखमा सुमित्रा भण्डारी तथा भक्तपुर नगरपालिकाको प्रमुखमा उत्तमभक्त बाटीलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष माधव खत्रीले जानकारी दिनु भयो ।