
काठमाडौं, २३ जेठ ।
नेकपा (एकीकृत समाजवादी) ले अकस्मात् मन्त्रीहरु हेरफेरको लागि नयाँ नाम सिफारिश गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव छलफलमा बस्नुभएको हो ।
प्रधानमन्त्री देउवा माधव नेपालको पछिल्लो निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । उहाँले बजेट आएको र मन्त्रीहरुले बजेटबारे उठेको जवाफ दिन नपाउँदै हेरफेर गर्ने निर्णय गर्नु उचित नभएको गुनासो पोख्नुभएकाचे छ । एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्न लागेपछि सरकारमा सहभागी अन्य दलहरुमा पनि दबाब सिर्जना भएको छ । आजको छलफलमा शीर्ष नेताहरुले प्रतिनिधिसभाको निर्वाचनको मितिबारे पनि छलफल गर्ने र त्यसमा कसरी गठबन्धन गर्ने भन्नेबारे छलफल गर्ने बताईएको छ। खासगरी प्रतिनिधिसभामा सिट बाँडफाँटको टुँगो लगाउनेगरि उनीहरु छलफलमा जुट्नुभएको हो ।