
भक्तपुर, २५ जेठ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्व गठबन्धनको सरकार बिकास बिरोधी सरकार भएको बताउनु भएको छ । जनताको पक्षमा नरही बिकासका बजेट काट्ने, जनताको विपक्षमा निर्णयहरु गर्ने, अनावश्यक कुराहरु जनतालाई लाद्ने, पेट्रोलदेखि सबै सामानको मूल्य बृद्धि गर्ने शोसक सरकार रहेको उहाँले आरोप लगाउनु भयो ।
सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको आदर्श चोकदेखि वडा कार्यालय हुँदै घ्याम्पेडाँडा जानेसडक खण्डको आज कालोपत्रे गर्ने कार्यको शिलान्यास नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं युवा नेता बस्नेतले बिकास बिरोधी सरकारले भक्तपुरमा एमाले नेतृत्व सरकारले छुट्याएको सडक लगायत बिकासका बजेट काटेर बिकास बिरोधी काम गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बिकास बिरोधी सरकार हो, जनताको विपक्षमा रहने सरकार हो, मंहगी बृद्धि गराउने, जनतामा अनावश्यक कुरा लाद्ने सरकार हो भन्ने जनताले बुझिसकेका छन्, अब मंसिरमा हुने चुनाबबाट अहिलेको बिकास बिरोधी सरकारलाई बाईबाई गर्नेछन् र बिकास गर्ने एमाले नेतृत्वको सरकारलाई हाई हाई गरेर फेरी सरकारमा ल्याउने छन् । त्यसपछि अहिलेको सरकारले काटेका सबै सडकका बजेट ल्याएर विकासलाई पूर्णता दिनेछौ ।”
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पालामा विनियोजित सडकका बजेटहरु वर्तमान देउवा सरकारले काटेको भन्दै उहाँले जगाती सिपाडोलको यो सडकको बजेट पनि अनेक उपायहरु अबलम्बन गर्दै तीन करोड बजेट ल्याएर कालोपत्र सुरु गरेको बताउनुभयो ।
अहिले एमालेकै सरकार भएको भए यो सडकलाई ३ करोड नभई १३ करोड बजेट ल्याउन सकिन्थ्यो भन्दै उहाँले बालकुमारी, बोलकोट रानीकोट सडकलाई ओली सरकारको पालामा ४० करोड बजेट पारे पनि अहिलेको सरकारले बजेट काटेको बताउनु भयो। वर्तमान् सरकार जनता र विकासप्रति जवाफदेही नभएको भन्दै उहाँले एमाले नेतृत्वको सरकारको पालामा एउटा निर्वाचन क्षेत्र एउटा रणनीतिक सडक सुरु गरेपनि अहिलेको सरकारले भक्तपुर जिल्लाका सबै सडकका बजेट काटेको बताउनु भयो ।
पूर्वमन्त्री एवं एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “यस वर्षको बजेटमा हाम्रो जिल्लामा सडकमा एउटा पनि बजेट परेन, सडकका बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नै जिल्लामा मात्रै पठाएका छन्, एमालेको पालामा ३ करोड बजेट पाएको ठाउँमा अहिलेको सरकारले ३० लाख मात्रै बजेट पठाएको छ ।”
यस पटक बजेटले रातो किताबमा गिज्याइरहेको टिप्पणी गर्दै उहाँले वर्तमान् सरकारले एक वटा शिर्षकमा १० वटा सडक पारेर जम्मा ३० लाख बजेट दिएर गिज्याएको बताउनु भयो । एमाले नेतृत्वको सरकारको पालामा भक्तपुरमा ३८१ वटा सडक ३० करोडदेखि ३ अर्बसम्मको बजेट एउटै सडकलाई पार्ने सफल भएको तर अहिलेको सरकारले ती बजेटहरु पनि काटेको सांसद बस्नेतको भनाइ थियो ।
सांसद बस्नेतले भन्नुभयो, “एमाले सरकारको पालाको रातो किताब र आजको रातो किताबलाई एकै ठाउँमा राखेर पल्टाएर हेर्ने हो भने भक्तपुरलाई रातो किताबले गिज्याइएरहेको देखिन्छ, एमालेको पालामा रातो किताब भरि भक्तपुरका बजेट देखिन्थे भने अहिले रातो किताबका भक्तपुरका नाम भेटिन्न्, त्यो हेर्दा नै थाहा हुन्छ, एमाले विकासवादी पार्टी हो, जननताको सहयोगी पार्टी हो, कांग्रेस विकास बिरोधी पार्टी हो भन्ने रातो किताबले पुष्टी गर्छ ।”
वर्तमान् सरकारले १४ सय सडक एकै पटक काटेको बताउदै उहाँले सरकारले भट्राई टोल, नैचाल, सिपाडोल जाने सडकको बजेट काटेको बताउनु भयो । भक्तपुरका जनताले बजेट ल्याउन संघर्ष गर्ने दिन आएको भन्दै उहाँले अब जनताले आजाव नउठाउने हो भने भक्तपुरलाई बजेट नआउने भएकाले सिंहदरबार घेर्ने र दबाब दिने, आन्दोलन गर्ने दिन आउने बताउनु भयो ।
वर्तमान् सरकारले भक्तपुरको बजेट काट्नुमा भक्तपुरका काँग्रेसका नेताहरु जिम्मेवार रहेको भन्दै सांसद बस्नेतले भन्नुभयो, “एमालेको सरकारमा व्यापक सडक र बिकास गर्दा त्यो समयले ल्याएको बिकास हो महेश बस्नेतको घरबाट ल्याएको पैसाले बिकास बिकास गरेको हो र ? भन्ने कांग्रेसका साथीहरुलाई अहिले मेरो प्रश्न छ, आज तपाईको पार्टीको सरकार हुँदा कति बजेट आयो त ? कति बजेट ल्याउनु भयो त ?”
कांग्रेसले चुनाबको बेलामा भ्रम छर्ने, गलत म्यासेज दिने, जनतालाई अलमलमा पार्ने र चुनाब पछि हराउने कांग्रेसको रोगको रोग नै भएको टिप्पणी गर्दै उहाँले अब जनताले बुझ्नु पर्ने बताउनु भयो । आगामी मंसीरमा हुने चुनाबमा बिकास बिरोधी सरकारलाई बाईबाई गरेर विकासका पक्षधरलाई जनताले सरकारमा ल्याउछन् भन्दै उहाँले मंसिरमा हुने निर्वाचनबाटै जनताले वर्तमान् विकास बिरोधी सरकारलाई बिदा गर्ने दाबी गर्नु भयो ।
कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेतले सिपाडोलको पुरोना सडकको मुहार फेरिएको भन्दै जतिसक्दो छिटो यो सडक कालोपत्र गरि सक्ने बताउनु भयो ।