
काठमाडौं, १ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो ।
गत जेठ १९ गते धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासँग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।
राप्रपाले आज सबै जिल्ला र ७ वटा प्रदेशमा जिल्ला प्रशासन कार्यालय मार्फत र काठमाडौँमा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय भएको समितिका संयोजक बुद्धिमान तामाङको भनाई छ ।