
काठमाडौँ, असार १ ।
रसिया भ्रमणमा रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुग्नुभएका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताका क्रममा दुई देशीय हितको विषयमा छलफल भएको थियो । भेटमा बोल्दै मन्त्री गहतराजले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । भेटकै क्रममा मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुभएको छ । यसैबीच नेपाली प्रतिनिधि मण्डलले रसियाका मार्शन आट्र्स सङ्घका अध्यक्ष र अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिनुभएको छ ।