
काठमाडौं, ११ असार ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ । हिजो बसेको पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको हो ।
बैैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको जानकारी दिनुभएको थियो ।
अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले गठबन्धनले आफूहरूलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । अध्यक्ष नेपालले विगतमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सके गठबन्धनले बढी जित हासिल गर्ने बताउनुभयो ।
असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजबाट जोगाउनको निम्ति पार्टीलाई परिचालित गर्नुपर्ने अध्यक्ष नेपालको धारणा रहेको उहाँले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) ले आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ।