
काठमाडौं, २८ भाद्र ।
सत्ता गठबन्धन दल आगामी निर्वाचनमा तालमेल गर्दा सिट बाँडफाँटको चाँजो मिलाउन कसरत गरिरहेका छन् । कार्यदलमा महिना दिनसम्म छलफल गर्दा समेत त्यसबारे सहमति नबनेपछि ११ दिनदेखि शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । १२ औँ दिन मंगलबार पनि त्यसबारे छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज पनि दिउँसो ३ बजेका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । तर‚ चार बजे भने प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच बालुवाटारमा भेटवार्ताका लागि समय तय भइसकेको छ । देशभर प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्ष निर्वाचन क्षेत्र छन् । तीमध्ये गठबन्धनका पाँच दलले कसले कति सिट लिने भन्ने विषयमा तालमेलको प्रयास भइरहेको छ । तर‚ शीर्ष नेताहरू आफैँ सहमतिका लागि प्रयासरत भए पनि अहिलेसम्म सहमति जुटेको छैन । गठबन्धनमा दलहरुले २० साउनमै चुनावी तालमेल गर्ने र त्यसका लागि सिट बाँडफाँटको खाका बनाउन नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेताहरुले विभिन्न मोडेलमाथि छलफल गरेर त्यसको विवरण शीर्ष नेताहरूमाझ पेश गरिसकेका छन् ।