
काठमाडौं, २८ भाद्र ।
महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । आज भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिनुभएको थियो । आजको समितिको बैठकमा सडक जामको कारण देखाउँदै राणा उपस्थित हुनुभएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् । समिति बैठकको लाइभ गर्नुपर्ने पक्षमा एमाले रहेको छ भने माओवादी केन्द्रका सांसदले त्यसको विरोध गरेका छन् । छलफलमा एमाले सांसद विष्णु पौडेलले बैठक लाइभ गर्न र पत्रकारलाई पहुँच दिन माग गर्नुभएको छ । यता माओवादी सांसद यशोदा गुरुङले भने माओवादी बैठकको लाइभ गर्ने विषयमा विपक्षमा रहेको बताउनुभयो ।