हामीसँग जोडिनुहोस

संविधानको रक्षा र पालनामा सबैको इमान्दार प्रयास आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई

2 मिनेट

काठमाडौं, ०४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता औंल्याउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित स्वागत समारोहमा उहाले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाम्रा प्रयास निरन्तर जारी रहेको बताउनुभयो । यसै क्रममा केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निकट भविष्यमा नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीनै तहको निर्वाचनपश्चात् जनप्रतिनिधिहरूले मुलुकको बृहत्तर हितलाई प्राथमिकतामा राखी सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक विकासका लागि अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको जनाउँदै राष्ट्रपति भण्डारीले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।
नेपालले आफ्नो विकास प्रक्रियामा भोगिरहेका चुनौती बहुआयामिक रहेको उल्लेख गर्दै उहाले जलवायु परिवर्तनबाट उत्पन्न प्रभावको सामना गर्न हाम्रो जस्तो पर्वतीय मुलुकमा अनुकूलनका कार्यक्रमहरूको ठूलो आवश्यकता छ, युवा शक्तिका लागि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपरेको बताउनुभयो ।
भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीको समयमा नेपाललाई विभिन्न मित्र राष्ट्रहरूबाट प्राप्त सहयोगका लागि राष्ट्रपतिले कृतज्ञता व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको सदस्य भएको नाताले यसको बडापत्रप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको जनाउँदै उहाले असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा पारस्परिक लाभ र मित्रतामा आधारित परराष्ट्र नीतिलाई नेपालले सदैव अवलम्बन गर्दै आएको जनाउनुभयो ।
संवैधानिक सर्वोच्चता, विधिको शासन, लैङ्गिक हिंसा तथा जातीय भेदभावको अन्त्य, पर्यावरणीय सुरक्षा र मानवअधिकारको सम्मान नेपालका प्राथमिकताका विषय हुन् । साथै, दिगो विकासका लक्ष्यहरू प्राप्त गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार रूप दिन कृत सङ्कल्पित रहेको जनाउँदै राष्ट्रपति भण्डारीले केही वर्षभित्रै नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुन गइरहेको बताउनुभयो ।
सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, कायम मुकायम प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख, नेतागण, राजदूत तथा नियोग प्रमुख, उद्योगी व्यवसायीलगायत विशिष्ट व्यत्तित्वको उपस्थिति थियो । कार्यक्रममा नेपालको कला संस्कृति झल्कने वेशभूषासहित मयूर नाच, सोरठी नृत्य, चण्डालिका नृत्य, लाखे, सकेलालगायत नृत्य प्रस्तुत गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।