
काठमाडौँ, असोज ११ ।
सरकारले आयातमा ९० प्रतिशत छुट दिएसँगै स्यानेटरी प्याड आयात बढेको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमो प्याड आयात बढेको हो ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २४ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको प्याड आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा २० करोड ३९ लाख ७३ हजार रुपैयाँको प्याड आयात भएको थियो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत प्याड आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारले पहिलो दुई महिनामा ३ करोड १७ लाख २ हजार ७२२ पिस (गोटा) प्याड आयात गरे बापत ३ करोड ६५ लाख ९१ हजार रुपैयाँ राजश्व उठाएको छ । गत आर्थिक वर्ष २ करोड ५४ लाख ८० हजार ५३९ पिस (गोटा) प्याड आयात गरेबापत ५ करोड ९६ लाख ६८ हजार रुपैयाँ राजश्व उठाएको गरेको थियो ।
नेपालमा सबैभन्दा बढी भारतबाट प्याड आयात हुने विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउन–भदौमा भारतबाट २१ करोड २१ लाख ८ हजार रुपैयाँको २ करोड ६४ लाख ६० हजार ९७५ पिस प्याड आयात भएको छ । चीनबाट २ करोड २८ लाख ४० हजार रुपैयाँको प्याड आयात भएको विभागले जनाएको छ । चालु आवमा ताइवानबाट ४३ लाख १५ हजार रुपैयाँको ८ लाखवटा प्याड भित्रिएको छ भने गत आवमा २१ लाख ८३ हजार रुपैयाँको १३ हजार ८ सय ६० वटा प्याड आयात गरिएको देखिन्छ ।