भक्तपुर, १९ साउन ।। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले बिभिन्न विषयको लागि भोलीबाट सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ ।
सीटीईभीटीले भोली शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा आज सूचना जारी गरि स्थगित गरेको सीटीईभीटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले राससलाई जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरि उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो ।
आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी समेतको उपस्थितिमा सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न शिक्षा मन्त्रालयमा बुधबार र बिहीबार बैठक बसेको थियो ।
उक्त बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोही अनुरुप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरि हाललाई परीक्षा स्थगित गरेको बताइएको छ ।
सीटीईभीटीले विगतका वर्षहरुमा जस्तै प्रमाणपत्र तहका नर्सिङ्, फार्मेसी, ल्याब असिष्टेण्ड, डेन्टल हाइजेनिष्टलगायतका स्वास्थ्यसँग सम्बन्धित बिभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आव्हान गर्ने,
परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका कार्य गर्दै आएको छ ।
आयोगले भने चिकित्सा शिक्षा ऐनविपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षण संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने भर्ना आह्वान गर्ने, चिकित्सा शिक्षाको नियमन गर्ने अधिकार आयोगको मात्रै रहेको जनाउदै आएको छ ।
सीटीइभीटीले आयोगसँग समन्वय नगरी ऐन विपरित सम्बन्धन दिने, भर्ना आव्हान गर्ने, सिट निर्धारण गर्ने, शुल्क निर्धारण गरेको भन्दै आयोगले असहमति जनाएपछि दुई संस्थाबीच बिवाद चर्किदै आएको थियो ।
सीटीईभीटीले आफ्नो संस्था अन्तर्गत रहेका ४९ वटा प्राबिधिक कलेज र गतवर्ष अयोगले गतवर्ष सिट निर्धारण गरेका १४९ वटा कलेजमा समेत यसवर्ष भर्ना आह्वान गर्दै सूचना सार्वजनिक गरेपछि आयोगले ऐनविपरीत गरेको भन्दै आपत्ति जनाएको थियो ।