
भक्तपुर, ८ भदौ । नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दूर्लभ थापाले जनताको विकासको आवश्यकताको पहिचान गरेर बजेट विनियोजन हुनु पर्ने बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेपाली सेनाो सैनिक प्रतिष्ठानदेखि वडा कार्यालयसम्म पुग्ने सडकको दुरावस्था देख्या यो कुन ठाउँमा पो आइयो भने जस्तो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सम्बृद्ध नेपाल बनाउने संकल्पका साथ अगाडि बढेको बताउदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीसँगै सडक निर्माणलाई पनि उच्च प्राथमितामा राखेर नगरपालिाले योजना अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । विगत पाँच वर्ष अगाडि यहाँको बाटो जस्तो थियो, अहिले पनि त्यस्तै रहेको भन्दै उहाँले बाटोको सिमांकन सकेर पर्खाल लगाउने काम सुरु भएपनि छिट्टै पूर्णता पाउनु पर्ने बताउनुभयो ।
सांसद एवं जिल्ला सभापति थापाले यहाँको सडकप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “आगामी चार वर्षभित्र यहाँको मात्रै होइन चाँगुको सबै बाटोले पूर्णता पाओस्, भत्केको पाटी नगरकोटले छिट्टै पूर्णता पाओस्, देकोचा चाँगुनारायण साँखु सडक, खरिपाटी ब्यारेक मत्स्यनारायण सडकले छिटो पूर्णता पाओस् ।” उहाँले देशको आर्थिक स्थिति मजबुद बनाएर बिकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिनुभयो ।