नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।
राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ। लडेकाे अवस्थामा परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो। पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान छ। बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो।
राति बाथरुम जाने क्रममा ढलेको हुन सक्ने अनुमान गरिएको छ। नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार भोलि गरिने भएको छ । उहाँका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने बताइएको छ । दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ ।
दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ ।
नेम्बाङको शवलाई केहि बेरपछी पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा लगिँदैछ । दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राख्ने केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
नेम्बाङका कान्छा छोरा अष्ट्रेलियाबाट नेपाल फर्किएपछी मात्र पारिवारिक सल्लाहअनुसार भोलिसम्ममा अन्त्येष्टि कार्यक्रम गरिने पनि बिष्टले बताए । नेम्बाङलाइ श्रद्धाञ्जली दिन थुप्रै नेताकार्यकर्ता टिचिङ पुगेका छन ।
नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पताल पुगेका छन् ।
अस्पतालमा एमाले नेता कार्यकर्ताको बाक्लो भिड लागेको छ । नेम्वाङको शव केहीबेरमा श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय लगिने एमाले सचेतक महेश बर्तौलाले बताए ।
राष्ट्रपति रामचन्द्र पाैडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङकाे निधनमा अन्य नेता तथा कार्यकर्ताहरूले पनि गहिराे दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्दहरूले भरिएका छन् ।