भक्तपुर, ३ मंसिर । नेकपा एमालेका युवा नेता महेश बस्नेतले मंसिर ७ गते गणतन्त्र र संविधानको रक्षाका लागि युवा संघ नेपालको नेतृत्वमा काठमाडौं हुने प्रर्दशनमा गणतन्त्रवादीहरुलाई सहभागि हुन आव्हान गर्नु भएको छ ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज भक्तपुरमा ७ गतेको प्रर्दशनको विषयलाई लिएर आयोजना गरेको जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दैै उहाँले सक्कली गणतन्त्रवादीको प्रर्दशनमा सहभागिता रहने बताउनु भएको हो । नेकपा एमालेका पोलिटव्यूरो सदस्य, युवा संघका इन्चार्ज एवं पूर्वमन्त्री बस्नेतले गणतन्त्रको वास्तबिक पक्षधर एमाले मात्रै रहेको भन्दै अहिलेको व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने बताउनु भयो ।
उहाँले भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको छ, किनकी एमाले वास्तबिक रुपमा गणतन्त्रको पक्षधर पार्टी हो, काँग्रेस, माओवादी त गणतन्त्रको खोल ओढेर सत्ताको स्वार्थ सिद्ध गर्ने मात्रै हुन्, यी वास्तविक गणतन्त्रवादी भएका भए एउटा अपराधी र माफियाले गणतन्त्र माथी धावा बोल्दा, पञ्चायती राष्ट्रियगान गाउँदा सत्तामा हुनेहरुलाई दुख्दैन । उनीहरु भाङ खाएर सुतिरहेका छन्, त्यसैले एमाले गणतन्त्र विरोधी यस्ता तत्वहरुसंग खुलेर मुकाविला गर्न सक्छ भनेर ७ गते देखाइदिनेछ ।”
संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प खोज्न सकिन्न :
एमाले युवा नेता बस्नेतले लोकतान्त्रिक गणतन्त्रको बिकल्प खोज्न नसकिने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा धेरै कुरा सुधार गर्नुपर्ने भए होलान्, तर त्यसो भन्दैमा गणतन्त्रको बिकल्प खोृज्न सकिदैन, बरु सुधार गर्नु पर्ने कुरालाई सुधार गर्दै जान सकिन्छ । तर बिभिन्न बाहनामा संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार हुँदा एमाले मौन बस्न सक्दैन, जरी काँग्रेस, माओवादी मौन बसिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस र माओवादीको नक्कली आमा हो, नक्कली बाबु हो, त्यसैले त्यसमाथि प्रहार। हुँदा पनि मौन छन् तर संघीय लोकतान्त्रिक गणतन्त्र एमालेको सक्कली बाबु हो, सक्कली आमा हो, त्यसमाथि प्रहार हुँदा एमाले टुलुटुलु हेरेर बस्दैन, एमालेलाईै दुख्छ, त्यसैले मङ्सिर ७ गतेको प्रर्दशन गणतन्त्रलाई संस्थागत गर्ने प्रर्दशन हो, त्यो प्रर्दशनमा प्रत्येक गणतन्त्रवादीहरुको सहशभागिता हुनुपर्छ ।’ उहाँले अब स्यालहरु नकराए हुन्छ, मङ्सिर ७ गतेको एमाले सडकको बाघ हो भन्ने कुरा सिद्ध गरेर देखाउने बताउनुभयो ।
एमालेलाई सिध्याउँछु भन्ने कल्पना नगरे हुन्छ :
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेलाई सिध्याउँछु भन्ने कल्पना नगर्न चेतावनी दिनु भएको छ । उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्व माथि विभिन्न कोणबाट हमला भइरहेको बताउदै त्यसका बिरुद्ध पनि पनि ७ गतेको प्रर्दशन भएको बताउनुभयो ।
उहाँले एमाले माथि किन आक्रमण हुँदैछ भन्ने कुरा धेरै एमालेका नेता कार्यकर्ताले बुझ्न जरुरी रहेको भन्दै अझै पनि विरोधीले एमाले र एमाले नेता विरुद्ध भ्रम फिँजाउने काम गरिरहेको तर्फ एमालेका नेता कार्यकर्ता स्पष्ट हुनुपर्ने औल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०६२/०६३ को आन्दोलन पछि राजनीतिक आन्दोलन सकियो अब समृद्धिको यात्रामा अघि बढ्नु पर्छ भनिए पनि राजनीतिक दलहरू गठबन्धन गरेर बेथितिमा लागेको कारण त्यसको विरुद्ध आन्दोलनमा जानु पर्ने बाध्यता आयो । गठबन्धनधारीहरूको ध्यान नेकपा एमालेलाई कमजोर बनाउने तर्फ गइरहेको छ, अनेक षडयन्त्र गरेर एमालेलाई हराउन नसकेपछि अहिले एमाले माथि भौतिक रूपमा आक्रमण सुरु भएको छ, एमाले विरुद्ध संगठित ढङ्गले आक्रमण भएको भएको छ, त्यसको विरुद्ध एक भएर लड्नु पर्नेछ ।’
पाँच दलीय गठबन्धनले हराउन नसकेको एमालेलाई एउटा लफंगाले हराउने सपना नदेख्न उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘पाँच दल मिलेर चुनाव लड्दा पनि एमालेलाई हराउन सकेनन्, केही ठाउँमा एमालेको आन्तरिक समस्याका कारण हार व्यहोर्नु परेको हो, पार्टी विभाजन गराउँदा समेत एमालेलाई सिध्यामउन सकेनन्, अहिले एमालेलाई दुई÷चार जना लफङ्गाले हराउछु भन्ने कल्पना नदेखे हुन्छ, त्यस्ता लफंगालाई एमालेका युवाहरुलेनै तह लगाउन सक्छन् ।’
एमाले र पार्टी अध्यक्ष ओलीको रक्षा गर्न म ज्यान दिन तयार छु :
नेता महेश बस्नेतले एमाले पार्टी र पार्टी अध्यक्ष माथि बिभिन्न कोणबाट आक्रमण हुँदा पनि एमालेको केही नेता कार्यकर्ता मौन बसेकोमा आक्रोस पोख्नु भयो । उहाँले एउटा व्यक्तिको पछाडि पार्टी किन लागेको होला, पार्टी अध्यक्ष किन लागेको होला महेश बस्नेत किन लागेको होला भनेर भन्ने र सामाजिक सञ्जालमा समेत लागेका लान्छना बिरुद्ध दुईचार अक्षर लेखेर प्रतिवाद गर्न नसक्नेहरु सच्चा एमाले हुन नसक्ने टिप्पणी गर्नुभयो ।
कतिपय एमालेजनले आफूलाई दुर्गा प्रसाईँ विरुद्ध नबोल्न आग्रह गरेको भन्दै उहाँले त्यस्ता एमालेजनमा बौद्धिकताको खडेरी वा कायरता देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो त व्यक्ति हो, तपाईँले त्यसका विरुद्ध बोल्न हुँदैन भन्ने तर्क गर्ने मान्छे पनि देख्छु म । त्यो त फोहोर हो, फोहोरमा ढुंगा फाल्यो भने छिट्टा आफैलाई लाग्छ भन्ने एमाले पनि देख्छु म । कि त्यस्ता एमालेहरुमा बौद्धिकताको खडेरी छ, कि ती एमालेहरुमा कायरतापन लुकेको छ । त्यसैले त्यस्ता कुरा गरिरहेका छन् ।’
‘आफ्नै सेनापति माथि आक्रमण हुँदा बन्दुक नताक्ने सिपाही हुन सक्दैन, त्यस्ता सिपाही काम पनि लाग्दैन, सिंगो एमाले माथि, पार्टी अध्यक्ष माथि आक्रमण हुँदा प्रतिवाद नगर्नेहरु कसरी एमाले हुन्छन् ? त्यसैले एमालेलाई बचाउन, केपी ओलीलाई बचाउन म चाहिँ शहिद पनि तयार छु, मर्न तयार छु ।’ एमाले युवा नेता बस्नेतले भन्नुभयो, ‘एमाले र पार्टी अध्यक्षको पक्षमा बोल्दा चुनाबमा हारिन्छ भने पटक पटक हार्न तयार छु, तर म बारम्बार हारेर पनि संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, विकास र समृद्धिलाई मर्न दिन्न ।’
अध्यक्ष ओली माथी साइबर आक्रमण भइरहँदा एउटा पनि स्टाटस नलेख्ने र त्यसका विरुद्ध नबोल्ने व्यक्ति एमाले हुन नसक्ने बताउनुभयो । उहाँले एउटा लफंगाले तर्साउदा एमाले पंक्ती स्याल जस्तो भएर सुत्नु लज्जास्पद भएको भन्दै भक्तपुरका सबै पार्टी पंक्तीलाई यस्ता कुराको प्रतिबाद गर्न निर्देशन दिनुभयो ।
एमालेलाई हराएर कांग्रेसले जितेर भक्तपुरवासीले के पाएँ ? यसको जवाफ त जित्नेले दिनु पर्ला नी भन्दै उहाँले भक्तपुरको विकासको लागि हारेर पनि भक्तपुरमा महेश बस्नेतनै चाहिएको र एमालेनै चाहिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मङ्सिर ७ गतेको कार्यक्रम कसैसँग जुधाउने गरी तय गरिएको कार्यक्रम होइन, यो कुरामा एमालेका कार्यकर्ता स्पष्ट हुनुपर्यो, यो कार्यक्रम २ महिना अघि नै निर्धारण भएको कार्यक्रम हो, २ महिना अगाडि तय भएको कार्यक्रम जुधाउन अरुले कार्यक्रम राखेका हुन् । सात गतेको हाम्रो कार्यक्रमका एजेण्डाहरु के हुन्, एमाले पंक्तिले बुझ्नु जरुरी छ ।’
लेबल नमिल्ने मान्छ्ेसँग एमालेले नबोलेको भए हुन्थ्यो भनेर कार्यकर्तालेनै भन्ने गरेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘लेबल त पढाइमा हुुन्छ, लडाइँमा होइन, कसैले खुकुरी लिएर आउँछ भने मेरो लेबल मिल्दैन भनेर गर्धन थाप्न सकिदैन, त्यहाँ जे भेटिन्छ त्यसैले हान्नु पर्छ, हाम्रो कार्यक्रम भइरहेको बेलामा दुईवटा बौलाहा आएर लट्ठी र खुकुरी देखाए भने मेरो त लेबल मिलेन भनेर गर्धन थाप्नुहुन्छ तपाईँहरू ?’
उहाँले युवा संघका कार्यकर्ता पनि आफूहरु विरुद्धको साइबर हमलामा दर्शक भएर बसेको भन्दै असन्तुष्टी पोख्नुभयो । हिजो बेलुलका युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र म भएर युवा संघका नेताहरुले सामाजिक सञ्जालमा के के लेखेका छन् भनेर हेर्यौं तर केन्द्रीय सदस्य मात्र हैन कतिपय पदाधिकारीले एमालेलाई भइरहेको प्रहारका विरुद्ध एक शब्द लेखेका छैनन् ।
मङ्सिर ७ गतेको प्रदर्शन धेरै लोकतन्त्र पछिको ऐतिहासिक प्रदर्शन हुने बताउदै दुर्गा प्रसाईँले देशभरिबाट जम्मा गर्ने मानिसहरू एमाले भक्तपुरले नै उतार्ने बताउनुभयो । उहाँले भक्तपुरबाट मात्रै १२ हजार भन्दा बढीकोृ सहभागिता रहने बताउनुभयो ।
दुर्गा प्रसाइले सबैभन्दा बढि भक्तपुरको अपमान गरेको भन्दै उहाँले त्यसको बदला लिएरेै छाडने बताउनुभयो । प्रसाईले जादुभाई, भान्जाभान्जि, ज्वाइ, ससुरा सबैलाई ठगेर नपुगेर अहिले हिन्दुवादी नारा लगाउदै पुरानो राष्ट्रिय गान बजाउदा समेत सरकारले कुनै कारबाही गर्न नसक्नु प्रचण्ड र काँग्रेसको पनि समर्थन छ कि भन्ने आशंका बढदै गएको बस्नेतले बताउनुभयो । प्रसाईले आफूमाथि लगाएको आरोप बैज्ञानिक ढंगले प्रमाणित गरेर देखाउन उहाँले चुनौति दिनुभयो । महेश बस्नेतले गलत गरेर ठाउँ ठाउँमा जग्गा जोड्यो भनेर भन्नेहरुलाई प्रमाािण्त गरेर देखाइदिन चुनौती दिनुभयो ।
राजा ल्याउने सपना नदेखे हुन्छ :
अब पनि राजतन्त्र फर्कन्छ, नारायणहिटीमा राजा आउँछन् भन्ने सपना नदेख्न उहाँले आग्रह गर्नुभयो । मरिसकेको राजा र मरिसकेको राजतन्त्र अब फर्कदैन भन्दै नेता महेश बस्नेत भन्नुभयो, ‘केही व्यक्तिहरु राजा ल्याउने भन्दै गाउँदै हिडेको देख्छु, ज्ञानेन्द्र शाह र रबिन्द्र मिश्रको बोलीदेखिेर लाज लाग्छ, ज्ञानेन्द्र शाहले पनि फेरी राजा बन्छु भन्ने सपना अब नदेखे हुन्छ, राजा आउछ तर माघमा महिनामा त्यो पनि स्वस्थानी ब्रत कथामा लावण्य देशको राजा आउछन् ।’ उहाँले मंसिर ७ गतेको प्रर्दशनको तयारीका लागि टोलटोलमा तयारी बैठक बसेको र लाखौको सहभागिता हुने बताउनुभयो ।
नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सभापति देउजा, एमाले वागमति प्रदेश सभाका प्रमुख एवं भक्तपुर यन्चार्ज कैलाश ढुगेंल, युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी, भक्तपुर नगर कमिटीका अध्यक्ष मदन द्यौला, मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष सूर्यलाला श्रेष्ठ,चाँगुनारायण नगर कमिटी अध्यक्ष रामप्रसाद तिमिल्सिना र सूर्यविनायक नगर कमिटी अध्यक्ष रबिन्द्र सापकोटा लगायतले गणतन्त्रमाथि नै गम्भिर चुनौती आएकाले मंसिर ७ गतेको प्रर्दशन आवश्यक भएको भन्दै प्रर्दशनमा सहभागि हुन आव्हान गर्नुभयो ।