भक्तपुर, २३ पुस । जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलका नेताहरूको सिण्डिकेटले जनतामा निराशा छाएको बताउनु भएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले सोमबार यहाँ आयोजित सञ्चार–संवाद कार्यक्रममा बोल्दै उहाँले राज्यको हरेक अंगमा कब्जा गर्ने सिन्डिकेटले गर्दा गणतन्त्रको विरोध गर्दै राजतन्त्रप्रति झुकाव बढेको टिप्पणी गर्नुभयो ।
“यो मुलुकका चारजना नेताहरू एक ठाउँमा बसेपछि जतिसुकै ठुल्ठूला भ्रष्टचारका काण्डहरू पनि सेलाएर जाने गरेका छन्, भ्रष्टाचार लुकाउन यी नेताहरु सबै एकै ठाउँमा बस्छन्, यिनीहरुको त्यस्तो स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली हो कि भन्ने लागेको हो”, अध्यक्ष राउतले भन्नुभयो, “ चारदलको स्वेच्छाचारी प्रबृत्तिले जनतामा नैराश्यताबाहेक अरू केही आएन, तर जनताका लागि गणतान्त्रिक प्रणालीभन्दा अन्य उन्नत राजनीतिक प्रणाली हुन सक्दैन भनेर बुझाउन नेताहरु चुकिरहेका छन् ।”
जनता राजनीतिक परिवर्तनका लागि लालायित भएको चर्चा गर्दै उहाँले वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट आजित भएका जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक भएको बताउनुभयो ।
राष्ट्रियसभा निर्वाचन हिजोका दिनमा अर्कै प्रयोजनका लागि परिकल्पना गरिएको भएपनि अहिले राष्ट्रियसभा भनेको जनताले परित्याग गरेका व्यक्तिहरूलाई पठाउने थलो बनाइएकाले जनतामा थप असन्तुष्ट बढेको भन्दै त्यस्ता असन्तुष्टी सामाजिक सञ्जालबाट छताछुल्ल भइरहेको बताउनुभयो ।
अध्यक्ष राउतले सत्तागठबन्धनको छलफलमा राष्ट्रियसभामा आफ्नो पार्टीलाई स्थान दिन सिन्डिकेटवादी पार्टीहरूले नमानेपछि जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशमा सांकेतिक रूपमा उम्मेदवारी दिएको बताउनुभयो ।
भारतीय विदेशमन्त्रीको हालैको नेपाल भ्रमणको उपलब्धीमूलक भएको भन्दै उहाँले भन्नुभयो, “भारतलाई नेपालले जुन १० हजार मेगावाट बिजुली नियार्त गर्ने सम्झौता छ त्यसबाट जलविद्युतमा लगानी गर्ने नेपाली व्यापारीहरू बजार सुनिश्चितताका कारण उत्साहित हुने अवस्था आएको छ । मेरो विचारमा यो सम्झौता नेपालको आर्थिक विकासमा महत्वपूर्ण कदम हुनेछ ।”
अध्यक्ष राउतले भारतीय दूतावासले नेपालका सामाजिक क्षेत्रमा २० करोड रुपैयाँ खर्च गर्न पाउने प्रावधानमा नेपाल सरकारको सहयोग र सहभागिता रहने भएकाले यसलाई विवादास्पद बनाउनुको पछाडि कुनै तुक नरहेको बताउनुभयो ।
“नेपालमा एकथरीले भारतीय राजदूतावासले सिर्फ तराई–मधेशमा मात्र लगानी गर्छ भन्ने गरेको छन्, त्यो भ्रमलाई स्पष्ट पार्न भारतीय दूतावास स्वयंले विगतमा हिमाल, पहाड र तराई क्षेत्र कहाँ–कहाँ कति–कति लगानी ग¥यो ? त्यो आँकडा सार्वजनिक गरोस । यस्ता यो लगानीका सम्बन्धमा नेपाल सरकार आफैं चनाखो रहनु पर्दछ ।”
राउतले मधेशका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकून भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर (सर्भिस डेलिभर) सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको बताउनुभयो । उहाँले अन्य नयाँ राजनीतिक पार्टीसँगभन्दा जनताले जनमत पार्टीलाई फरक ढंगले अपेक्षा गरेकाले आफ्नो पार्टी विगतको वाचा र बन्धनलाई बिर्सेर अगाडि नबढ्ने पनि स्पष्ट पार्नुभयो ।
आफ्नो पार्टीले हालै आयोजना गरेको राष्ट्रिय धोती दिवसमा सरकारले दमन गरेको भन्दै उहाँले भन्नुभयो, “राष्ट्रिय धोती दिवस मनाउने सिलसिलामा वर्तमान सरकारमा सामेल मन्त्रीसहित अन्य नेता कार्यकर्तालाई सरकारले पक्राउ गर्न मिल्छ भने जनमत पार्टीले विरोध गर्न किन मिल्दैन ? त्यसैको उपक्रम हो जनवरी १ को प्रदर्शन ।”
उहाँले मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि जनवरी १ लाई राष्ट्रिय पोशाक दिवस मनाउने भन्ने पात्रोमा उल्लेख गरेअनुसार नेपालजस्तो बहुजाति देशमा औपचारिक पोशाक निर्धारित नगरिएको अवस्थामा विगत २०७०÷०७१ सालदेखिनै राष्ट्रिय धोती दिवस मनाउँदै आएको बताउँदै धोती दिवस साम्प्रदायिक सद्भावविरुद्ध हुँदै नभएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष राउतले “मिसन ०८४ मा पनि यिनै सिन्डिकेटवादी पार्टीको वर्चश्व रहने र केही भयो भने १०–२० सिट तल माथि होला तर राजनीतिक अवस्थामा परिवर्तन आउने छैन । यस्तो अवस्थामा जनताका माग सम्बोधन हुने छाँटकाँट देखिँदैन् । त्यस्तो अवस्थामा जनता परिवर्तन खोज्न बाध्य हुनेछन् । हालैको बालकुमारी घटना पनि जनताको राजनीतिक तथा आर्थिक असन्तुष्टिको परिचायक हो जस्तो मलाई लाग्दछ ।“