भक्तपुर, २४ पुस । वागमति प्रदेशसभाका सदस्य किरण थापाले राजनीतिमा एमालेको छुट्टै पहिचान रहेको स्मरण गराउन राष्ट्रियसभामा एमालेले कुनैपनि दलसंग गठबन्धन नगरी एकल उम्मेदवारी दिएको बताउनु भएको छ ।
रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समृद्ध नेपालको पक्षमा १९ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बताउनु भएको हो ।
प्रदेश सभाका सांसद थापाले भन्नुभयो, “राष्ट्रिय राजनीतिमा यतिखेर एमाले एक जिम्मेवार प्रतिपक्ष हो भन्ने सिद्ध गराउन एमालेले गठबन्धनका लागि आफ्नो अस्तित्वसँग सम्झौता नगरेको हो । राजनीतिमा एमालेको छुट्टै पहिचान रहेको स्मरण गराउन पनि राष्ट्रिसभामा एमालेको उम्मेदवारीले एकल उम्मेदवारी दिएको हो ।”
बिकासमा राजनीति गर्नु हुदैन भन्ने एमोलको नीति र धारणा विगतदेखिनै रहदै आएको बताउदै उहाँले वागमति प्रदेश सरकारले भने विकासमा समेत राजनीीत र विभेद गर्दै आएकोमा असंतुष्टी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयोे, “ वागमती प्रदेश सरकार निकम्मा साबित भएको छ विगतमा प्रतिपक्ष र सत्तापक्षबीच भएको सहमतिअनुसार प्रदेशस्तरीय बजेट बाँडफाँटमा समेत निष्पक्षता कायम गर्न सकेन । यो सरकारले जनप्रतिनिधिहरूलाई समेत विभेदकारी नीति लागू गरेको छ । जनु दोषपूर्ण नीतिका कारण वागमती प्रदेशका स्थानीय र राष्ट्रियस्तरका विकास निर्माणका कार्यहरू ठप्प भएका छन् ।”
सांसद थापाले प्रदेशसभामा पाँच वटा समिति गठन गरिए पनि उक्त समितिका सभापति अहिलेसम्म चयन गर्न नसकेको भन्दै ज्येष्ठ सदस्यमार्फत समितिको गतिविधि सञ्चालन गर्नुपर्दाको बिडम्बनामा उभिुन सरकार लज्जास्पदको नमूना बनेको बताउनुभयो ।
यसले समग्रमा संसदीय मूल्यमान्यताको सिद्धान्तलाई खिल्ली उदाएको भन्दै प्रदेशसभा सदस्य थापाले एमाले विधि र विधानअनुसार संसदीय समितिहरू निष्पक्ष र स्वतन्त्र ढंगले चल्नुपर्दछ भन्ने पक्षमा उभिएको बताउनुभयो । वागमती प्रदेशको गठबन्धन सरकार संसदीय विकासको संस्थागत विकासमा ध्यान नदिएर तदर्थवादमा बस्न रमाएको उहाँको भनाइ थियो ।
अहिलेको गठबन्धन सरकारले एमाले र नेमकिपाका उम्मेदवारहरूले चुनाव जितेको क्षेत्रमा योजना, आयोजनाहरू सञ्चालन नगरेर ती तत् तत् क्षेत्रलाई योजनाबाट विमुख बनाइएको आरोप लगाउनुभयो ।
वर्तमान वागमती प्रदेश सरकारको एकलौटी, एकाधिकारवादी चरित्रका काम कारवाहीबाट जनतामा प्रदेश र संघीयता भनेको सेतो हात्ती हो भन्ने टिप्पणीलाई बल पु¥याउने काम भइरहेको सांसद थापाको भनाइ छ ।
उहाँले भन्नुभयो, “गठबन्धनको प्रदेश सरकारको अदूरदर्शी कामले रणनीतिक सडकहरू, सिरुटार, बालकोट र दधिकोटमा सञ्चालित आयोजनाहरू अलपत्र अवस्थामा रहेको छ । ख्वप विश्वविद्यालय बनाउन पनि सबै एकजुट भएर लाग्नुपर्दछ । जनताको विकास र निर्माणका कार्यमा पार्टीगत रङले प्रश्रय पाउनु हुँदैन ।”
एमाले प्रतिपक्षमा रहेर पनि सूर्यविनायक–धुलिखेल सडकका काम समयमै सिध्याउनु पर्छ भनेर हरेक सहयोग र समन्वय गरेर अगाडि बढिरहेकोे बताउदै उहाँले भक्तपुरमा रहेका १७ वटा अस्पताललाई विशेषज्ञ अस्पलातको रुपमा विकास गर्ने हो भने भक्तपुरवासीलगायत अन्यले पनि सुलभ र सहज तरीकाले उपचार पाउन सक्ने बताउनुभयो ।
सांसद थापाले चुनावबाट निर्वाचित भएर आइसकेपछि राजनीतिक पार्टीको सदस्यलाई जस्तो व्यवहार नगरेर जनप्रतिनिधिको रूपमा समान र उचित व्यवहार गर्ने राजनीतिक संस्कारको आवश्यकता रहेको बताउनुभयो ।