भक्तपुर, २५ पुस : आकस्मिक रुपमा रगत नपाएर धेरै बिरामी र आफन्त रगतको खोजीमा भौतारिरहेको अहिलेको अबस्थामा २००० युवायुवतीको समूहले देशभर आकस्मिक रगत उपलब्ध गराउने भएका छन् ।
अस्पतालको शय्याबाटै विरामीलाई चाहिएको रक्त समूहको ताजा रगत तत्कालै उपलब्ध गराउने गरि मध्यपुरथिमिको राधेराधेस्थित राधा माधव समिति अन्तर्गत रहेको ‘डिभाइन युथ क्लब नेपाल’मा आबद्ध दुई हजार युवायुवतीहरुको समूहले विरामीलाई खोजेकै ठाउँमा तत्काल आकस्मिक गत उपलब्ध गराउने व्यबस्था गरेका हुन् ।
रगतको अभाव चुलिदा विरामीका लागि रगत नपाएर विरामीका आफन्तहरु भौतारिनु परेको थाहा पाएसंगै सामाजिक सेवामा निरन्तर क्रियासिल मध्यपुरथिमिमा रहेको डिभाइन युथ क्लब नेपालले बिरामीका आफन्तले घरबाटै वा बिरामीले अस्पतालको शय्याबाटै रगतका लागि मोवाइलबाटै फाराम भरेलगत्तै सोही ठाउँमा पुगेर ताजा रगत उपलब्ध गराउने व्यबस्था गरेको डिभाइन युथ क्लब नेपालका अध्यक्ष सुशील जिसिले जानकारी दिनुभयो ।
वेभसाइडमा बिरामीले आफुलाई आबश्यक परेको रक्त समुहको रगत तुरुन्त दिन सक्ने गरि करिब २००० युवाहरुको रक्त समूहसहितको नामावली समावेश गरिएको भन्दै उहाँले देशभर छरिएर रहेका यस क्लबका सदस्यले आफ्नो नजिक रहेका बिरामीलाई ताजा रगत दान गर्ने गरि व्यबस्था गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष जिसिले भन्नुभयो, ”डिभाइन युथ क्लब नेपालले आकस्मिक रक्तदान गरि रगत उपलब्ध गराउन मोवाइल एप्सको शुभारम्भ गरेका छौँ, रगत आवश्यक पर्नेहरुले डिभाइन युथ क्लबको वेभसाइटमा गएर जुनसुकै बेला पनि आकस्मिक रुपमा आफू वा आफन्तलाई चाहिने रक्त समूहसहितको ताजा रगत तत्कालै उपलब्ध गराउने सक्ने गरि व्यबस्था गरेका छौ ।”
रगत प्राप्त गर्न क्लबको वेभसाइडमा गएर www.dycn.org.emergency.blood.request मा लगइन गरेर त्यहाँ रहेको फाराममा सबै विवरण भरेर आफूले चाहेको रगत पाउन व्यबस्था गरेको अध्यक्ष जिसिले जानकारी दिनुभयो । सोही वेभसाइडमै २००० जनाको नाम, रक्त समूह, ठेगाना र टेलिफोन तथा मोवाइल नम्बर समावेश गरिएको जानकारी दिदै उहाँले फाराममा सबै विवरण भरेपछि आफूलाई चाहिने रक्त समूहका नजिक रहेको युवाको मोवाइल नम्बर आउने र त्यहीबाट फोन गरेर दातालाई बोलाएर ताजा रगत लिन सक्ने व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो ।