भक्तपुर, २७ पुस । बहिरंग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर अब १६ शय्याको जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्यालयमा स्तरोन्नती गर्ने बिस्तार हुने भएको छ ।
वागमति प्रदेश सरकारले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरलाई १६ शय्याको अस्पतालको रुपमा बिकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसंगै अब उक्त स्वास्थ्य केन्द्र आयुर्वेद तथा बैकल्पिक चिकित्यालयमा परिणत हुने भएको हो ।
प्रदेश सरकारले अस्पतालको रुपमा बिस्तार गर्दै दरबन्दीको व्यबस्था गरेसँगै चाँगुनारायण नगरपालिका–७ खरिपाटी कृषि सेवा केन्द्रमा रहेको २१ रोपनी सार्वजनिक जग्गा मध्ये ११ रोपनी जग्गामा उक्त अस्पतालको भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
एकवर्ष अगाडिनै जिल्ला आयुर्वेद अस्पतालका लागि भक्तपुरमा जग्गा खोजी गर्ने क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. नरेन्द्रप्रसाद गिरी, आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष राजु अधिकारीले चाँगुनारायण नगरपालिकासँग जग्गा माग गरेपछि नगरपालिकाले ११ रोपनी जग्गा उक्त अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने निर्णय गर्दै दरबन्दी थप गरेकोमा खुसी व्यक्त गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भन्नुभयो, “खरिपाटीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माण गर्नका लागि ११ रोपनी जग्गा दिन वडा र नगरपालिकाले निर्णय गरेर सिफारिस गरेको थियो ।
सोही सिफारिसको आधारमा भक्तपुरको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मालपोत, नापी कार्यालयलगायत सरोकारवालाको स्थलगत अबलोकन र त्यसपछिको बैठकले उक्त जग्गा उपयुक्त रहेको भन्दै स्वीकृत गरेर सरकारलाई सिफारिस गरेको छ । अब नेपाल सरकार मन्त्रीपरिषद्ले उक्त जग्गा लिजमा दिने निर्णय गरेलगत्तै अस्पताल भवन निर्माण गर्न सकिन्छ ।”
अहिले कमलविनायकमा भाडाको भवनमा सेवा प्रवाह गर्दै आएकोमा सरकारले छिटो निर्णय गरिदिए अर्को वर्ष भवन निर्माणले सार्थकता पाउने उहाँले बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले चाँगुनारायणको जग्गा उपयुक्त भनेर सिफारिस गरेको भएपनि सरकारले जग्गा उपलब्ध गराउने निर्णय नगरेसम्म भवन निर्माणको प्रक्रिया अगाडि नबढ्ने बताउनुभयो ।
उहाँले अहिले दैनिक ५० जना भन्दा बढी बिरामीलाई ओपिडि सेवा दिदै आएको र भवन अभावले भाडाको भवनमा साधुरिएर सेवा दिनु परेको बताउदै जिल्लामा भवन बन्न सके आयुर्वेद उपचारले फड्को मार्ने बताउनुभयो ।
वागमति प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले भने भक्तपुर जिल्लामा १६ शय्याको आयुर्वेदिक अस्पतालको दरबन्दी स्वीकृत भएको बताउदै आउँदो आथिक वर्ष सम्ममा यसले सार्थकता पाउने उहाँको भनाइ थियो ।
उहाँले वागमति प्रदेश सरकारले प्रदेश भित्रका १३ जिल्लाका आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई बिस्तार गरि चितवन र नुवाकोटलाई २५ शय्याको र भक्तपुर जिल्लासहित बाँकी ११ जिल्लालाई १६ शय्याको आयुर्वेद तथा बैकल्पिक चिकित्यालयमा स्तरोन्नती गर्ने निर्णय गरेर दरबन्दी स्वीकृत गरेर बजेटको व्यबस्थापन गरेको बताउनुभयो ।