भक्तपुर, २८ पुस : भक्तपुुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले विरगञ्ज, पर्साका ३ वर्षीय बालकका लागि ३० वर्षीय आमाले कलेजो दान दिनु भएको जानकारी दिनुभयो । कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभभयो ।
उहाँले भन्नुभयो, “यसअघि यति सानो बालकको कलेजो प्रत्यारोपण गरिएको थिएन । यो पहिलो पटक हो, केन्द्रले यो साता मात्रै शुक्रबारदेखि सोमबारसम्म लगातार चार दिनमा चार वटा कलेजो प्रत्यारोपण गर्दैछाँै, यो नेपालको लागि ठूलो सफलता हो ।”
त्यसो त यसअघि पनि केन्द्रले पुसमा पनि एकै पटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । पुस ८ गते भक्तपुरका २२ वर्षिय छोरालाई ४७ वर्षीय बुबाले र पुस ९ गते सप्तरीका २५ वर्षीय भाईलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएर प्रत्यारोपण गरिएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ मङसिर २२ गते, दक्षिण कोरियाका चिकित्सकहरुको प्रविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुवात गरेको थियो ।
त्यसपछि भारतको म्याक्स अस्पतालक विशेषज्ञ चिकित्सकहरुको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आए पनि पछिल्लो समय नेपाली चिकित्सककै टोलीले कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्न थालेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपाण्मा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि सफलता पाएपछि अब नेपाल कलेजो प्रत्यारोपणमा पनि आत्मनिर्भर हुन थालेको बताउनुभयो । सुरुका केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा अहिले वर्ष १० जनाको सफल केलेजो प्रत्यारोपणमा सफलता हासिल गर्न केन्द्र सक्षम भएको छ ।
केन्द्र स्थापनादेखि अहिलेसम्म एक हजार २०० जना भन्दा बढीको मृगौला प्रत्यारोपण गर्न समेत केन्द्र सफल भएको उहाँले बताउनुभयो ।