भक्तपुर, १० माघ : सरकारले जारी गरेको लेटर ग्रेडिङ निर्देशिका २०७८ दुईवर्ष पछि लागू गर्दै राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ ।
बोर्डले यसवर्ष चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने एसईई परीक्षामा सोही निर्देशिका अनुसार नयाँ लेटर ग्रेडिङ पद्धति अनुसार परीक्षा सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले चैत १५ गतेदेखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिदै कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार लेटर ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक हुने बताउनु भयो ।
उहाँले यसवर्ष परीक्षामा सहभागि हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अथार्त १०० पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क ल्याउनै पर्ने व्यबस्था गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यबस्था गरेको बताउदै ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड आउने र विद्यार्थीहरू फेल हुनेछन् ।
लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याएमा उसको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ । यस्तो अबस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यबस्था गरेको छ ।
यसवर्षको एसईईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षमा सहभागि हुने एसईई परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।
परीक्षाको तयारी बोर्डले तिब्र रुपमा गरेको छ । परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका छपाई, प्रश्नपत्र छपाईदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी सुरु गरेको बोर्डले जनाएको छ ।