हामीसँग जोडिनुहोस

कलेजोको टुक्रा दिएर आमाले बचाइन तीन वर्षीय छोरा

3 मिनेट
-रमेश गिरी
भक्तपुर, १० माघ । आफ्ना छोराछोरी एउटी आमाको लागि कलेजोको टुक्रा सरह हुन्छ भन्ने पुस्तौदेखिको भनाईलाई बिरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले चरितार्थ गरेर देखाउनु भएको छ ।
कलेजोको क्यान्सरले जीवनसंग संंघर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आफ्नै कलेजो काटेर दिदै उहाँले छोराको नयाँ जीवन दिनु सफल भएकोमा निकै खुसी देखिनु भएको छ । आमा सीताको ४० प्रतिशत कलेजो काटेर छोरा रिसवमा सफल प्रत्यारोपण गर्न सफल भएको छ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर ।
वरिष्ठ मृर्गाैला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वका चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रिया पश्चात आमाको कलेजो छोरामा सफल प्रत्यारोपण गर्दै नयाँ जीवन दिन सफल हुनु भएको हो ।
कलेजो झिकेको ६ दिनमा आमा र नौ दिन छोराको डिस्चार्ज भएसंगै रासससंग कुरा गर्दै केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले कलेजो प्रत्यारोपित बालक र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।
“यति सानो बालकको कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारण सबैभन्दा जटिल प्रत्यारोपणको रुपमा मानिन्छ, ”उहाँले भन्नुभयो, “केन्द्रले पहिलो पटक बालकमा कलेजो प्रत्यारोपण गर्ने भएकाले केन्द्रका केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिकसहित पाटन अस्पतालका बाल रोग विशेषज्ञ डा. पूजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल, बाल रोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिएर कलेजो सफल रुपमा प्रत्यारोपण गरेका हौ ।”
आमाको ४० प्रतिशत कलेजो काटेर प्रत्यारोपण गरेको जानकारी दिदै मानिसमा मिर्र्गाैला जस्तो दुई वटा कलेजो नहुने भएकोले आवश्यक मात्रामा दाताको कलेजो काटेर अर्कोमा प्रत्यारोपण गरिने उहाँले बताउनुभयो । दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशत वृद्धि हुने हुने र दातामा कुनै समस्या नआउने उहाँको भनाइ छ ।
रूपक भट्ट र सीता भट्ट दम्पतीको एक्लो छोरा थियो रिसब । सुरुसुरुमा छोरालाई बान्ता हुने, वाकवाकी गर्ने, खाएको नपच्ने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगेर उपचार गर्ने क्रममा बालकको कलेजोमा क्यान्सर पहिचान भएपछि केमो चढाएर उपचार गराइरहेका सीताले जानकारी दिनुभयो । ट्युमर पनि शल्यक्रिया गरेपनि निको भएन । अस्पतालले भारतमा लगेर उपचार गर्न रिफर गरेपछि दिल्लीमा लगेर उपचार गर्दा पनि उपलब्धी नभएको तर खर्च धेरै भएको उहाँ बताउनुहुन्छ ।
त्यसपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा आएर उपचार गरेपछि कलेजो प्रत्यारोपण गरिएको उहाँ बताउनु हुन्छ । आफ्नो कलेजोको टुक्रा दिएर कलेजोको टुक्रा जस्तै छोरालाई बचाउन सफल भएकोमा उहाँ निकै खुसी हुनुहुन्छ ।
छोरालाई कलेजो दिएर नयाँ जीवन दिएकी सीताले भन्नुभयो, “छोराको आशानै मारिसकेका थियौ, तर यो अस्पतालमा आएपछि मेरो आफ्नै कलेजो काटेर दिएर मेरो यो सानो छोरालाई नयाँ जीवन दिन पाएकोमा मलाई आज साह्रै खुसी लागेको छ ।”
केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि १५ देखि २० लाखसम्म रुपैयाँसम्म खर्च हुने गरेकोमा  तीवर्षे बालकको हकमा भने १५ लाख मात्रै अस्पतालले लिएको जानकारी दिनुभयो ।
केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरबाट कलेजो प्रत्यारोपणको सुरुवात गरेको थियो ।
केन्द्रले सुरुको केही वर्ष वार्षिक एक, दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यसवर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो । केन्द्र स्थापनाको ११ वर्षको अवधिमा हालसम्म कुल एक हजार १८८ जनाको मृर्गौला प्रत्यारोपण र कुल १८ जनाको कलेजो प्रत्यारोपण समेत गरिसकेको उहाँ बताउनुहुन्छ ।
केन्द्रले २०६९/०७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, २०७/०७१ मा २७ जना, २०७१/०७२ सालमा ४१ जना, २०७/०७३ सालमा १०१ जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । केन्द्रले २०७३/०७४ मा १३२ जनाको, २०७४/०७५ मा १५३ जनाको, २०७५/०७६ मा १७९ जनाको, २०७६/०७७ मा ४९ जनाको, २०७७/०७८ मा ४५ जनाको, २०७८/०७९ मा १६० जनाको, २०७९/०८० मा १ सय ८६ जनाको र २०८०/०८१ मा १०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७३/०७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष दुई जनाको कलेजो प्रत्यारोपण गरिएको थियो भने २०७४/०७५ देखि २०७७÷०७८ मा चार वर्षमा एक÷एक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका छन् । डा. श्रेष्ठका अनुसार २०७८/०७९ मा ३ जनाको, आर्थिक वर्ष २०७९/०८० मा दुई जनाको र चालु आर्थिक वर्षमा सात जनाले कलेजो प्रत्यारोपण गरेको जानकारी दिनुभयो ।
नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु पश्चात् हुने अङ्ग दानबाट प्रत्यारोपण गरेको यस केन्द्रले मस्तिष्क मृत्युपश्चात् प्राप्त हुने अंगदान गरेर खेर जाने अंगबाट अरु विरामीको जीवन बताउन आव्हान गर्दै आउनु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।