
भक्तपुर, १९ फागुन । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रथम भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा महिलातर्फ प्राश्ना किवानायो र पुरुषतर्फ गणेशमान दुवाल विजेता बनेका छन् ।
वागमति प्रदेश खेलकुद बिकास समितिको समन्वयमा जिल्ला समन्वय समितिको हलमा शुक्रबारबाट सुरु भइ शनिवार आज सम्पन्न खुल्ला महिला तथा बुद्धिचाल प्रतियोगितामा महिलातर्फ यशस्वी शर्मा दोश्रो र श्रेषा दुवाल तृतीय भएका छन् । पुरुष तर्फ भने निकेन कुशाथा दोश्रो र गणेशकुमार अवाल तेश्रो भएका छन् ।
प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई आज प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापा, राष्ट्रिय खाद्य बैंकका प्रवन्ध निर्देशक रामशरण देउजा, सहायता फाउण्डेसनका अध्यक्ष राजु ढुंगेल, सूर्यविनायक नगर बुद्धिचाल संघका अध्यक्ष गोकुल केसीलगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने महिला तथा पुरुष खेलाडीहरुलाई क्रमश : जनही रु. ७ हजार, रु. ५ हजार र रु. ३ हजारका दरले नगद पुरस्कार प्रदान गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न समयमा समितिले आयोजना गरेको विभिन्न चरणका खेलकुद प्रतियोगितामा सहयोग पुर्याउदै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुर जिल्ला समितिलाई कदर पत्र प्रदान गर्नुभयो । प्याब्सनका जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र बरिष्ट उपाध्यक्ष राजन कसपालले उक्त कदर पत्र ग्रहण गर्नुभयो ।
कार्यक्रममा जिसस प्रमुख थापाले बुद्धिचाल सानादेखि ठूलासम्मले सहजै खेल्न सक्ने बताउदै यो खेल शारीरिक बलको प्रयोगले नधई बुद्धि र विवेकले खेलिने भएकाले यसले बुद्धिलाई तिखो बनाउने चर्चा गर्नुभयो । उहाँले बुद्धिचालले दिमाग तन्दुरुष्ट बनाउने र बुद्धिको वृत्ति विकासमा टेवा पुर्याउने बताउनुभयो ।
राष्ट्रिय खाद्य बैंक लि.का प्रबन्ध निर्देशक रामशरण देउजाले पछिल्ला वर्षहरुमा भक्तपुरमा खेलकुदका गतिबिधि तिब्र भएको चर्चा गर्दै सक्षम नेतृत्व आएमा खेलकुदले फड्को मार्ने उदाहरण भक्तपुरलाई लिन सकिने बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिले बिभिन्न खेलको बिकासमा निरन्तरता दिदै आयोजना गरेको बिभिन्न खेलकुद प्रतियोगिताले खेलकुदको बिकास र खेलाडीलाई प्रोत्साहन दिदै आएको चर्चा गर्नुभयो ।
प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले खेल क्षेत्रलाई शिक्षासँग जोडेर लैजान प्याब्सनले गतिबिधि गरिरहेको बताउदै यसो गर्न सके खेलकुद र खेलाडीको बिकासमा ठूलो टेवा पुग्ने चर्चा गर्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पदमा नहुँदा पनि खेल क्षेत्रको विकास र खेलाडीहरुको समस्या समाधानमा आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगितामा विजयी खेलाडीलाई राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागि गराईने भएको छ ।