भक्तपुर, २८ फागुन । गैर सरकारी संस्था महासंघ मध्यपुरथिमि नगर समन्वय समितिको अध्यक्षमा अर्जुन कुमार गैरापिप्ली सर्वसम्मतले चयन हुनुभएको छ ।
सोमबार मध्यपुरथिमिस्थित शंखधर पार्टी प्यालेसमा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा गैर सरकारी संस्था महासंघ भक्तपुरले आयोजना गरेको मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र रहेका गैससहरुले भोग्नु पर्ने समस्या तथा चुनौती र यसमा पालिकाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम एवं मध्यपुरथिमि नगर समन्वय समिति पुर्नगठन कार्यक्रममा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
आगामी तीन बर्षका लागि पुर्नगठिन नयाँ कार्यसमितिको उपाध्यक्षमा कल्पना बस्नेत, सचिवमा मञ्जु पोखरेल र कोषाध्यक्षमा हरिलक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सात सदस्यीय कार्य समितिको सदस्यहरुमा दीपा अधिकारी, जयलक्ष्मी श्रेष्ठ र मञ्जु सिलवाल सेढाई रचयन हुनु भएको छ । समितिको सल्लाहकारमा जगत कृष्ण प्रजापति र सीता आचार्य चयन हुनु भएको छ ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिका सामाजिक महाशाखाका प्रमुख ज्ञानेन्द्र भट्टले मध्यपुरथिमि नगरपालिका भित्र प्रक्रिया पुर्याएर आएका संसघसंसथ वा कुनै पनि निकायको काम नरोक्ने गरेको बताउनुभयो । नगरपालिका प्रति सहभागिले गरेको टिप्पणीप्रति लक्षित गर्दै उहाँले नगरपालिकाको कार्यक्रम, बजेट, गतिबिधि हेर्न बेभसाइडबाट सकिने बताउदै नगरपालिका र गैससबीच सहकार्य गरेर जाने सवालमा नगरपालिका सधै सकारात्मक रहेको बताउनुभयो । संघसंस्थाको गतिबिधिमा नगरपालिकामा कुनै समस्या आए आफू सहजीकरढण गरिने बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी सस्था महासंघका भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानले मध्यपुरथिमि नगरपालिकाले गैसस महासंघ भक्तपुरसंग कार्यक्रमका लागि सहजीकरण गरिदिएर संघसंस्थाप्रति सकारात्मक छ भन्ने सन्देश दिएको बताउदै गैससहरु एक जुट भएर अगाडि बढ्न सके जस्तोसुकै समस्यालाई पनि चिरेर जान सकिने बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ भक्तपुरका सचिव रमेश गिरीले स्थानीय सरकार र गैससको भूमिकाकाबारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाको बिकास र आयोजनाहरुलाई सार्थकता बनाउदै कार्यान्वयनमा ल्याउन स्थानीय गैससहरुलाई नगरपालिकाले परिचालन गर्नु पर्ने, गैससहरुसंग स्थानीय सरकारले हातेमालो गर्दै जनताको घरदैलोमा पुगेर काम गर्ने अवसरको सृजना गर्नु पर्ने र गैससप्रतिको दृष्टिकोण सकारात्मक बनाउदै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गैसस महासंघ भक्तपुरकी उपाध्यक्ष अनिता पाण्डेले गैससहरु छरिएर नभई एक जुट भएर स्थानीय सरकारसंग हातेमालो गर्दै सामाजिक कार्यमा निरन्तर लाग्नु पर्नेमा जोड दिदै पछिल्लो समयमा स्थानिय तहसंग सहकार्य नहुदा गैससको गतिविधि कम देखिएको बताउनुभयो । संस्थाका कोषाध्यक्ष पहलमान श्रेष्ठले पार्टीगत रंग दिएर गैससहरु अगाडि बढ्न नहुने र स्थानीइ सरकारसंग गैससले पार्टीगत पहुँच बनाएर जान नहुने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुले वृद्धवृद्धा प्रति नगरपालिका नकारात्मक रहेको, सार्वजनिक जग्गा माफियाबाट खोसेर समाजको लागि भवन नबनाएको, सूचनाको हकको प्रत्याुभूति नदिएकमो, जनताको गुनासो नगरप्रमुखसहितको जनप्रतिनिधिले नसुन्ने गरेको, संसथाहरुले सिफारिस लिन समेत नसकेको, मयेर उपमेयरका कर्याकर्ताले मात्र कार्यक्रम र बजेट पाउने गरेको, नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना निकाल्ने तर कार्यान्वयन नगर्ने गरेको, बाहिरी जिल्लाबाट बसाई सरि आएका मान्छेलाई सेवा सुबिधाबाट बञ्चित गरेको र नगरपालिकाका कर्मचारीले बजेट रोक्ने गरेको गुनासनेहरु गरेको छन् ।
गैसस महासंघ मध्यपुर नगर समन्वय समितिका संयोजक शान्ता मैनाली चुडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारी एवं समितिका सदस्यहरुलाई शुभकामना प्रदान गरिएको थियो ।