
भक्तपुर, ४ चैत : सूर्यविनायकस्थित नेपाली सेनाको इन्द्र बक्स गणमा आइतबार आयोजित भूतपूर्व सैनिक सम्मेलन‐२०८० सम्पन्न भएको छ ।
आज नेपाली सेनाका कार्यरथी, उपरथी दीपककुमार बानियाँले उद्घाटन गर्नु भएको सम्मेलनमा २५०० भन्दा बढी भुपु सेना तथा परिवारहरुको उपस्थिति रहेको थियो । उपरथी बानियाँले देशको रक्षाका लागि नेपाली सेना सधै अग्रसर रहदै आएको चर्चा गर्दै देशलाई आवश्यक पर्दा देशको रक्षाका लागि भुपु सैनिक पनि तयार रहनु पर्ने बताउनुभयो ।
उहाँले राष्ट्रको एकीकरणदेखि आजसम्म पनि नेपाली सेनाले कर्मठका साथ देश र जनताको लागि सधै निडर भएर लागिरहेको र आगामी दिनमा पनि नेपाली सेना र भुपु सेनाले देश र जनताको लागि लागिरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शारीरिक अपाङ्ग तथा अशक्त रहेका सेनाका अवकाश प्राप्त व्यक्ति र परिवारका सदस्यहरु टंकबहादुर श्रेष्ठ, बिनोद भुजेल र छोराका लागि लक्ष्मीप्रसाद पौडेललाई ह्वील चियर वितरण गरिएको श्री इन्द्रबक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।
सम्मेलनमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, भक्तपुर प्रहरीका प्रमुख वेद विष्ट, सेनाका अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु, सेनाका अवकाश प्राप्त विभिन्न दर्जाका व्यक्तिहरु तथा परिवारका सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गीत, नृत्य, बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रर्दशन गरिएको थियो ।