चैत २०,काठमाण्डौ ।
प्रतिनिधि सभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक बडापत्र अनुमोदन भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताउनुभयो ।
बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले बिम्स्टेक बडापत्र अनुमोदनको प्रक्रियाको स्वागत गर्नुभयो ।
नेकपा एमालेका सांसद रघुजी पन्तले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयमा नेपालले बिम्स्टेकबाट लाभ लिन सक्ने बताउनुभयो । उहाँले भूराजनीतिक स्वार्थबाट जोगिएर राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीय सङ्गठनबाट देशले लिन सक्ने लाभका बारेमा सरकारको ध्यान जानुपर्ने बताउनभयो ।
नेपाली कांग्रेसकी सांसद सीता मिजारले बिम्स्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने बताउनुभयो ।नेपालको संविधानको धारा २७९ को ९१० मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ ।