भक्तपुर, २१ असार । भक्तपुरको चाँगुनारायण नगरपालकिालाई बहुगुणी फल एभोकाडोको शहर बनाउने अभियान चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रयि रहेको यो अभियान यस वर्ष शुक्रबारबाट शुरु भएको हो ।
चाँगुनारायण-७ मझुवामा शुक्रवार एभोकाडोको बिरुवा बितरण र रोपण गरेसंगै दोश्रो चरणको अभियान शुभारम्भ भएको अभियानका संयोजक नरेश खड्काले जानकारी गराएका छन् । यस अभियानका परकिल्पनाकार एवं चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपि ढकालले चाँगुनारायण-७ का वडाध्यक्ष श्यामकाजी नयाँजू र जेष्ठ नागरिक भिमसेन थापालाई एभोकाड़ोको बिरुवा हस्तान्तरण गर्दै अभियानको दोश्रो वर्षको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतकि सल्लाहकार समेत रहेका ढकालले पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोले चाँगुनारायणको मुहार बदल्ने बताउँदै अभियानले सामुहिक एकता प्रदर्शन गर्न सफल भएको बताए । अभियानमा सयौं अभियन्ता स्वतस्स्फूर्त जोडिएका र हजारौ परिवार सामेल भएका उल्लेख गर्दै उनले गत वर्ष झैं यो वर्ष पनि अभियान उत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा स्थानीय अभियन्ता हरिशरण लामिछाने, गणेश थापा लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए भने विश्वप्रकाश पोखरेल, लालकिरण गौतम, मदन श्रेष्ठ, मदन ढुंगाना, सुनिल नेम्हाफुकी, सोनिया ठकुरी, अमृता संजेल, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना, प्रयास लामा, कान्छा लामा लगायतको सहभागितामा २ सय बढी घर परिवारमा एभोकाडोको बिरुवा वितरण गरिएको थियो ।
स्थानीय प्रहरी प्रभाग र क्लबमा पनि बिरुवा पुर्याइएको थियो । ३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान गत वर्ष देखि शुरु भएको हो । ३१ असार २०८० बाट शुरु भएको अभियानले गत वर्ष चाँगुनारायणको सबै वडामा गरी ७ हजार बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले प्रष्ट पारेका छन् ।
यो वर्ष पनि गत वर्षकै हाराहारीमा विरुवा वितरण र रोपण गरिने योजना रहेको उनको भनाइ छ । शुक्रवार चाँगुनारायण नगरपालिका ७, मझुवाबाट शुरु वृक्षारोपण कार्यक्रम शनिवार चाँगुनारायण नगरपालिका- २ दुवाकोटमा हुने तय भएको छ । त्यसैगरी असार २४ गते चाँगुनारायण- १ चाँगु स्कुल चौर, २६ गते चाँगुनारायण-४ न्याचोपौवा, २८ गते चाँगुनारायण- ३ झौखेल र २९ गते चाँगुनारायण-८ सुडालमा बिहान ८ बजेदेखि ८ बजेसम्म अभियानले काम गर्ने बताइएको छ ।