श्रावण २३ । भक्तपुर नगरपालिकाले चालू आथिक वर्ष ०७६ र ७७ मा ४० वटा नयाँ योजनाका लागि करिब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले सम्पदा संरक्षण र पुनर्निर्माण, भवन निर्माण, मन्दिर, पाटीपौवा मर्मतसम्भार, खानेपानी, डकलगायत क्षेत्रका नयाँ योजनामा २९ करोड ७१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको हो ।
नगरपालिकाले क्रमागत र निरन्तर सञ्चालन भइरहेका योजनासमेतलाई बजेटको व्यवस्था गर्दै ४० वटा नयाँ योजनामा बजेट विनियोजन गरेको हो । चुनावका वेला पार्टीले अघि सारेको घोषणापत्रबमोजिम नगरवासीका माग सम्बोधन गर्ने प्रयास गरिएको मेयर सुनील प्रजापतिले बताए ।
नगरपालिकाले खानेपानी ट्यांकी निर्माण र पाइप व्यवस्थापनका लागि दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । भाज्या पोखरीमा जलेश्वर मन्दिर निर्माण गर्न एक करोड नौ लाख, बहुउद्देश्यीय भवन निर्माण, पुरानो नगरपालिका रहेको (थन्थु दरबार) भवन निर्माण, अरनिको सभा भवन, महेश्वरी खोला पुल र सडक बत्ती विस्तारका लागि नगरपालिकाले एक–एक करोड विनियोजन गरेको छ । (नयाँ पत्रिका)