
जनकपुर, श्रावण २३ । नागरिकताबाट वञ्चित गराएको र आरक्षण हटाएविरुद्ध प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले मुद्दा हाल्ने बताउनुभएको छ । जनकपुरमा इन्सेकद्वारा आज आयोजित नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संविधानले ग्यारेण्टी गरेको अधिकारबाट पनि संघीय सरकारले जनतालाई वञ्चित गराएकाले मुद्दा हाल्ने बताउनुभयो। उहाँले नागरिकताबाट वञ्चित भएकाले आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै अनदेखा नगर्न संघीय सरकारसँग अपिल गर्नुभयो । मन्त्री यादवले जनसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिनुपर्ने संविधानमा उल्लेख भइरहेको अवस्थामा संघीय सरकार नै अनेक षड्यन्त्र गरी रोकेको आरोप लगाउनुभयो। प्रदेशसभाबाट लोकसेवा विधेयक पारित भइसकेकोले अब चाँडै लोक सेवा आयोग गठन गरेर प्रहरी भर्ना गर्ने बताउँदै आफ्नै प्रहरी प्रशासन भएपछि प्रदेशको शान्ति सुरक्षा र मानवअधिकारको अवस्था मजबुत बन्नुका साथै सुशासन समेत कायम हुने कुरामा विस्वस्त रहने जानकारी गराउनुभयो ।