हेटौँडा,१४ असोज।
बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई १ लाख रुपैयाँ दिने भएको छ।बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमवार हेटौँडामा बसेको बैठकले मृतकका परिवारलाई राहत प्रदान गर्ने गरी रकम निकासा गर्ने निर्णय गरेको हो।
राहतस्वरूप मृतकका परिवारलाई प्रति मृतक १ रुपैयाँ प्रदान गरिने जानकारी दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिले पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी दिएको हो।
विपत्बाट बढी क्षति भएको देखिएका १० जिल्लामा गरी २ करोड ३० लाख रुपैयाँ निकासा गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो।
प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश र सङ्घीय राजधानी जोड्ने मार्ग तत्काल खोल्न सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विपत् प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन, राहत र उद्धारलाई तीव्र बनाइएको बताए।
उनले विपत्बाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुर जिल्लालाई ३०, काठमाडौँ जिल्लालाई २०, सिन्धुपाल्चोक जिल्लालाई २० तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लालाई १०र१० लाख रुपैयाँका दरले राहत वितरण गर्न प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला विपत् व्यवस्थापन कोषमा रकम प्रदान गर्ने निर्णय भएको बताए।
प्रदेशका १३ वटा जिल्लाका विपत् व्यवस्थापन कोषमा ५र५ लाखका दरले प्रदेश विपत् व्यवस्थापन कोषबाट कुल ६५ लाख रुपियाँ उपलब्ध गराइने भएको छ।