
भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आज भक्तपुर नगरपालिका–१० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरि आजबाट सेवा सञ्चालन सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा निःस्वार्थ रुपमा सेवामा स्वास्थ्यकर्मि लाग्नु पर्ने औल्याउदै उहाँले जनताको स्वास्थ्यमा सहज र सुलभ पहुँच पुर्याउन स्थानीय निकायहरु सक्रिय हुनु पर्ने बताउनुभयो ।
सांसद सुवालले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना छिटो सम्पन्न गर्ने गरि काम अगाडि बढाउन सरकार लाग्नु पर्ने बताउनुभयो । नेपालले उत्पादन गरेको बिजुली आफैले खपत गर्ने रणनीति बनाउनुपर्ने बताउँदै सांसद सुवालले सस्तोमा नेपालको बिजुली भारतलाई बेचेर महँगोमा भारतीय उत्पादन किन्ने नीतिले देशको भलो नहुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन निरन्तर माग गर्दै आएको बताउदै भक्तपुर नगरपालिको हालसम्म ६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेे बताउदै स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई रु. २५ करोड भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकाले स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको बताउनुभयो ।