भक्तपुर, ३ फागुन : यसवर्षको ‘पाचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ ।
एपिक नेपाल म्युजिक प्रालिले आज मध्यपुरथिमिको शंखधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बिभिन्न ३२ विद्यामा यसवर्ष अवार्ड वितरण गरिने बताउनु भएको हो ।
उहाँले यसवर्षको अवार्ड प्रदानमा यसवर्षको लाईफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार बसुन्धरा भुषाललाई प्रदान गरिने घोषणा गर्नुभयो ।
पत्रकार सम्मेलनमा सदाबाहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने उहाँले बताउनुभयो ।

यसवर्ष सर्बाेत्कृष्ट घोषणा गरि अवार्ड प्रदान गरिनेमा लेकगीततर्फ गायक, गायिका, शब्द, लय, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, नृत्य निर्देशक, म्यृ्जिक एरेन्जर, भिडियो छाँयाकार, भिडियो सम्पादक, नवगायक, नवगायिका, नवमोडल पृरुष, नवमोडल महिला अवार्ड प्रदान गरिने भएको छ ।
त्यसैगरि आधु्निक तर्फ गायक, गायिका, संगीतकार, गीतकार, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, लोकपप गायक, टेलिचलचित्र कलाकार, श्रृगार, भाषाभाषी पुरुष कलाकार, भजन गायक, गीतकार डयास्पोरा, भाषाभाषी गायिका, नवप्रतिभा, सर्बाेत्कृष्ट खलपात्र, सर्बोत्कृष्ट चलचित्र गायकलगायतलाई अवार्ड प्रदान गरिने भएको छ ।
प्रत्येक विद्यामा उत्कृष्ठ पाँच जनाको नाम छनौट भएकोमा अब सर्वोत्कृष्ठ एकको छनौट गरि अवार्डका लागि सिफारिस गर्न पाँच जनाको निर्णायक मण्डल गठन गरेको श्रेष्ठले बताउनुभयो । कलाकार मिथिला शर्माको नेतृत्वमा निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्रश्ना शाक्य रहेको निर्णायक मण्डल गठन गरिएको उहाँले बताउनुभयो ।
निवर्तमान नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “प्रत्येक वर्ष हुदै आएको एपिक नेपाल म्युजिक अवार्डमा अब दुई वर्षमा आयोजना गरिने भएको छ । छैठौ संस्करणको अवार्ड वितरण २०८३ मा हुनेछ ।” कला र गलाको संयोजन रहेको उक्त कार्यक्रमको प्रमख अतिथिमा प्रथम महिला राधिका शाक्य हुने बताउनुभयो ।