काठमाडौं,२३ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ। पार्टीले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी सोमबार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सुनाएका हुन्।
उनले रविको सांसद पद निलम्बनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बताए।शुक्रबार साँझ बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेसँगै उनलाई प्रहरीले हिजो नै निवासबाट पक्राउ गरेको थियो। उनलाई आज बुटवल पुर्याइएको छ।