-रमेश गिरी
भक्तपुर, ३ बैशाख :
‘बस्नेलाई पीर परेर, हुन सम्म भा छ
जानेलाई नजाउ भन्न नसकिने रछ
तिम्रो मयाले मलाई पीर दियो
तिम्रो मयाले मलाई पीर दियो’………

नगरकोट भ्रमण वर्ष उद्घाटन महोत्सवको आज तेश्रो र अन्तिम दिन बतासे डाँडामा मध्यान्हसंगै आन्तरिक र विदेशी पर्यटकको भीड बढदै गयो । बतासे डाँडामा एक हजार भन्दा बढी पर्यटकले भरिए । कोही स्टलहरुमा सामान किन्दै थिए, कोही खाजामा रमाउदै थिए । कोही खेलमा रमाउदै थिए । नगरकोट भ्रमण वर्षको सुरुवाती तेश्रो दिनमा पनि बढ्दो पर्यटकको चाप र गायक गायिकाको उपस्थितिले थप रोनक बनाएको थियो ।

जब चर्चित गायक प्रकाश सपूत स्टेजमा उक्लिए, एकाएक माहोल तात्यो । त्यसपछि सुरु गरे प्रकाशले गीतका झन्कारहरु । दर्शकदीर्घामा रहेका पर्यटकहरु नतमस्तक भएर नाच्न थाले । स्टेजमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, बनेपाका प्रमुख शान्तिरत्न शाक्य, शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगुनाायणका प्रशासकीय प्रमुख शिवप्रसाद हुमेगाई, नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ्गलगायतका अतिथिहरु स्टेजमै नाच्न थाले ।

दर्शक दीर्घामा उभिएका हजारौ आन्तरिक पर्यटकसगै मिसिएका विदेशी पर्यटकहरु पनि प्रकाश सपुतको स्वर र संगीतको तालमा ताल मिलाउदै नाच्न थाले । सिमसिम वर्षाको पर्वाह नगरी आन्तरिक तथा बाह्य पर्यटकले सपुतको स्वरमा स्वर मिलाउँदै नाच्न थालेपछि नगरको महोत्सवको रौनक निकै बढेको थियो । कुसीमा बसेकाहरु पनि उठेर नाच्न थालेका थिए । युवायुवती मात्रै होइन, नगरकोट घुम्न आएका प्रेमिल जोडी, परिवार, साथीसंगी, युवायुवती र बालबालिकासमेतले नाच्दा नगरकोट झुमेको थियो ।महोत्सव गीतसंगीतमय मात्रै बनेन, आएका पर्यटकहरु नाच्ने, गाउँने र झम्नेमै मस्त देखिन्थे ।

‘कानमा झुम्कना, तिमीलाई कल्ले किन्दियो,
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउँमा लाको पाउँजु, हातमा सुनको चुरा
तिमीलाई कल्ले किन्दियो
हे फूलमया, हे फूलमया’……….

यो मात्रै नभई पर्यटकीय क्षेत्र नगरकोटमा प्रकाश सपूतले सात वटा गाउँदा महोत्सव निकै तरंगित भयो ।
तीनदिने महोत्वसको समापन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले देश र नगरपालिका बनाउने अभियान पुरा गर्न ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रे देश बनाउनु छ, हाम्रो नगरपालिका बनाउनु छ, यो कामको लागि हामी सबैको सहभागिता र सबैको अपनत्वको खाँचो छ । हामी जनप्रतिनिधि जनताको आवश्कतालाई परिपूर्ति गर्न नागरिक र पर्यटककै साथ र सहयोगबाट नगरपालिकालाई सुन्दर र सम्बृद्धि बनाउन सकिनेछ ।”

‘नगरकोट भ्रमण वर्ष–२०८२’ को घोषणा गरेर चारवटा नगरपालिका चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाले सम्बृद्धि र बिकास तथा सबै नगरवासीको ओठमा हाँसो र खुसी ल्याउन भ्रमण वर्ष आयोजना गरेको बताउनुभयो । पर्यटन भ्रमण वर्षको एक वर्षभित्र चारवटै नगरपालिकाको कला, संस्कृति, सम्पदा, पहिचान, रीति रिवाज, कृषि, पर्यटनलगायतको संरक्षण, विकास र पहिचान बढाउने सफल हुने उहाँले बताउनुभयो । उहाँले वर्षदिन भरिनै नगरकोट र पालिका केन्द्रति बिभिन्न कार्यक्रमको आयोजना गरिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्षले नगरकोटको मात्रै नभई चारवटै पालिकामा सम्बृद्धि ल्याउने, चारवटै पालिकामा पर्यटकीय गन्तव्य बढाउने र पर्यटकको बसाई लम्ब्याएर किास र सम्बृद्धि ल्याउने बताउनुभयो । एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्रयाउने र विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापित गर्न उदेश्यले बैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ चैत मसान्तमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

नयाँवर्षको दिन बैशाख १ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको भ्रमण वर्षमा दोश्रो दिन इन्द्रेणी सास्ँकृतिक समूह र आज तेश्रो तथा महोत्सवको अन्तिम दिन प्रकाश सपूतको गायनले पर्यटकलाई मनोरञ्जन प्रदान गरेको वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । भ्रमण वर्षको महोत्सवमा खाना, घरेलु उत्पादन, बिभिन्न गेमहरुलगायतका ६० वटा स्टल राखिएको बताउदै नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नबिन गुरुङ्गले तीन दिनको कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले होटल व्यवसायीलाई उत्साह थपेको बताउनुभयो ।

बैशाख १ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको भ्रमण वर्षको आजसम्मको तीन दिनमा १ लाख १० हजार पर्यटकको आगमन भएको बताउनुभयो । नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात आउँदो चैत मसान्तसम्म सञ्चालन हुनेछ । नगरकोट आएका हजारौ पर्यटकहरुले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँको बिभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेका थिए ।







