श्रावण २४ काठमाण्डौं । नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय खोल्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।
सबै प्रदेशहरुमा सैनिक स्कुलहरुको स्थापना गर्ने नीतिअनुरुप प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भैसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको निर्देशनालयका निर्देशक सागर केसीले जानकारी दिनुभयो ।
सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकून भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा विद्यालय खोल्ने योजना रहेको बताईएको छ ।
विद्यालय तथा महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण सिकाइमा नवीनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ‘ल्याङ्ग्वेज ल्याब’को व्यवस्था गर्ने योजना रहेको छ ।
निर्देशनालयले काठमाण्डौ उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ । वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।